बिष्णु पौडल ब्रसेल्स
इतिहाड एयरलायन्स ल्याडिडको समय थियो, विहान ७ बजेर ४५ मिनेट। तर प्लेन ल्यान्ड भयो ३० मिनेटअगावै बस्रेल्स विमानस्थलमा। त्यसमा सवार थिए कास्की घर भएका एक जना नेपाली चित्र सुवेदी।
प्लेन अवतरण भएको केहिबेरमा उनी लिफ्टमार्फत एरायवलबाट डिपाचरतर्फ जाँदै थिए। जुन एयरपोर्टको तल्लो तलामा थियो। लिफ्टबाट दोस्रो तला हँुदै तेस्रो तलामा जाँदै गर्दा एक्कासि ठूलो आवाज उनको कानमा पर्यो।
सोचे, फलामको भुइँमा केही झर्यो होला। उनले अनुमान लगाउन नपाउँदै लिफ्टको इमरजेन्सी ढोका आफै खुल्यो। ‘लिफ्ट चुँडियो होला’ भन्दै हतार–हतार बाहिर निस्किए। बाहिरको दृश्य कोलाहलपूर्ण थियो। रगतको खोलो बगेको, मान्छेहरू कराइरहेका थिए।
सहयोगको मागीरहेका थिए। सबै जना भागाभाग थिए। धूवाँको मुस्लो छिचोल्दै उनी बाहिर निस्के। लागेको थियो – सामान्य घटना होला । इलेक्ट्रिक समस्याका कारण लिफ्ट अबरुद्ध भएको अनुमान लगाउँदै उनी एयरपोर्टवाट बाहिरिए।
करिब १५ मिनेटको यात्रापछि उनी घरमा पुगे। घरमा पुगेर टेलिभिजन हेरेपछि मात्र थाहा भयो, एयरपोर्टमा बम बिस्फोट भएको रहेछ। उनी चढेको लिफ्टबाट २० मिटरको दुरीमा बम बिस्फोटभएको थियो।
टेलिभिजनले मृतकको संख्या भन्दै जाँदा उनी धरधर काँपीरहे। ‘धन्न बाँचिएछ,’ उनले मनमनै भने।
पन्ध्र वर्षदेखि बेल्जियमा बस्दै आएका सुवेदीले कहिल्यै सोचका थिएनन्, युरोपको मुटु ब्रसेल्समा आत्मघाती बम बिस्फोट हुन्छ भनेर। चित्र सुवेदीलाई लिनको लागि एयरपोर्ट पुगेका थिए, कृष्णप्रसाद रेग्मी । विगत पन्ध्र वर्षदेखि बेल्जियममा बस्दै आएका छन् रेग्मी। भरतपुर घर भएका उनी सुवेदीलाई लिनको लागि प्लेन ल्याण्ड हुनुभन्दा बीस मिनेटअघि नै एयरपोर्ट पुगेका थिए।
एयरपोर्टको अवस्था बिस्फोट हुनुपूर्व सामान्य थियो। मानिसहरूको चहलपहलमा केही फरक थिएन। सबै जना हतारमा थिए। सुरक्षाकर्मीको उपस्थिति चेकजाँचमा पहिलेको जस्तै थियो। तोकिएको समयभन्दा अगाडि नै इतिहाड एयरलायन्स अवतरण भयो। वेटिङ कक्षमा केहीबेर बसेपछि सुवेदीलाई लिन अरायवलकक्षतर्फ गए। दुवै जना लिफ्टमा चढे। दोस्रो तलाबाट तेस्रो तलामा जानको लागि लिफ्ट बन्द हुँदै गर्दा बिस्फोटको आवाज आयो।
दुई पटक ठूलो बिस्फोटको आवाज आयो। आवाजसँगै एयरपोटको छतबाट सिसा, फलामहरु खस्न थाले। एकैछिनमा माहोल त्रसित बन्यो। हातखुट्टा उछिट्टिएका थिए। रगतले टाउको छोपिएको थियो। ‘कुनै चलचित्रको दृश्यजस्तै बन्यो ब्रेसेल्सस्थित जेभेन्टम विमानस्थल,’ रेग्मीले सेतापाटीसँग कुरा गर्दै भने, ‘धन्न बाँचेर तपाईसँग कुराकानी गर्न पाएको छु। केही समयमात्र लिफ्ट चढ्न ढिला भएको भए यसै भन्ने स्थिति रहन्नथ्यो।’
मृत्युलाई नजिकबाट नियालेका सुवेदी र रेग्मी अझै त्रसित छन्। भन्छन्, ‘दोस्रो जीवन पायौं।’ २८ जनाको ज्यान जानेगरी बेल्जियमको राजधानी ब्रसेल्समा मंगलबार विहान आत्माधाती बम बिस्फोेट भएको थियो । केही महिनाअघि फ्रान्सको राजधानी पेरिसमा आक्रमणका मुख्य योजनाकार भनिएका सलाह अव्देशलम पक्राउ गरिएको चार दिन वित्न नपाउँदै बेल्जियममा आक्रमण गरिएको हो।
पेरिस हमलामा एक सय २० जनाको ज्यान गएको थियो। बेल्जियमको ब्रसेल्सस्थित विमानस्थल र रेलमार्गमा बिस्फोट गराइएको थियो। घटनापछि युरोपभरि उच्च सर्तकता अपनाइएको छ।
setopati



