चैत्र १०, २०७२- भूकम्पले सर्वाधिक क्षति पुर्याएको जिल्लाको उत्तरी क्षेत्रमा बुधबार बिहानैदेखि चलेको हावाहुरीले अस्थायी टहराहरु उडाएको छ ।
भूकम्पको केन्द्रबिन्दु बारपाक आसपासका लाप्राक, गुम्दा, करौंजा, उहिया, मान्वु, सिर्दिबास, सौरपानी गाविसमा हावाहुरीले बढी क्षति पुर्याएको स्थानियवासीले जानकारी दिए । ‘बिहान ७ बजेदेखि चलेको हावाहुरीले टहराको जस्तापाता उडाएर बुढीगण्डकी नदिमा पुर्यायो,’ करौंजा– ४ कि आशामाया घलेले भनिन्, ‘अहिले पनि हावाहुरी चल्न रोकिएको छैन ।’
हावाहुरीले रुखहरू समेत ढालेको उनले बताइन् । करौंजा माविको अस्थायी टहरा समेत उडाएपछि परीक्षा रोकिएको स्थानिय सुकबहादुर गुरुङले बताए । ‘उडाएको जस्ताले लागेर मान्छेहरू पनि घाइते भएका छन्,’ उनले भने, ‘हावाहुरीले अस्थायी टहरा भत्काएपछि बिहानदेखि केही खान पाइएको छैन । भोकभोकै बारीको कुनामा छेको लागेर बसेका छौं । हामी अभागी रहेछौं भूकम्प, पहिरो, हुरी–बतास सबैले सतायो ।’
हावाहुरीले अस्थायी टहरा, विद्यालय, स्वास्थ्य चौकी भवनमा पनि क्षति पुगेको स्थानियले टेलिफोनमा जानकारी दिए । हावाहुरी चलेको क्षेत्र सदरमुकामबाट कम्तीमा २२ कोस टाढा हो ।
उहिया गाविसमा पनि हावाहुरीले अघिकांश अस्थायी टहरा भत्काएको स्थानिय अर्जुन बिकले बताए । ‘एउटै टहरा बाँकी छैन,’ उनले भने । लाप्राकका भूकम्पपीडित बसेको गुप्सीपाखाको अस्थायी शिविरका टहरा पनि उडाएको स्थानिय मार्सिङ गुरुङले बताए ।
हावाहुरीले पीडितहरुको टहरा उडाएको खबर आएपछि सत्यतथ्य बुझेर क्षतिको विवरण संकलन गर्न प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक जनकराज पाण्डेयले बताए । विभिन्न गाविसमा हावाहुरीले क्षति पूर्याएका कारण एकिन विवरण आउन सकेको छैन ।
ekantipur



