‘कांग्रेस, एमाले र एमाओवादीका नेता भ्रष्टाचारमा लागे’
चैत्र ५, २०७२- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चीन सँगको सम्बन्ध अझै सुधार गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार सदरमुकाममा पत्रकारहरुसँग कुरा गर्दै उनले चीनसँगको सम्बन्ध सुधार गर्न सकेमात्रै प्रधानमन्त्री केपी ओलीको भ्रमण सार्थक हुने बताए । ‘चीनसँग आर्थिक सम्बन्ध विकास गर्न जोड दिनु पर्छ,’ उनले भने । भौतिक पूर्वाधार निर्माण गरेर चीनलाई नजिक राख्नु पर्ने उनले औल्याए ।
‘हाम्रो अर्थतन्त्र एकापटी बढी ढल्केका कारण परनिर्भर बन्नु परेको छ,’ उनले भने, ‘भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न सके परनिर्भरताबाट मुक्त हुन सकिन्छ ।’ दुवै देशसँग आर्थिक सम्बन्ध बढाउन सडक संजाल र रेल मार्ग विस्तार गर्नु पर्नेमा उनले जोड दिए । ‘बिदेशीहरुसँग भिख माग्ने होइन, पूर्वाधार निर्माण गर्न सहकार्यमा जोड दिनु पर्छ,’ उनले भने ।
चीनसँग व्यापार सम्झौता, विप्पा र इन्धन सम्झौता गर्नु पर्ने उनको भनाई थियो । भट्टराईले भने ‘दुई देशको तीव्र विकासबाट लाभ लिन सक्नु पर्छ ।’ नाकाबन्दी हटेपछि भारतसँगको सम्बन्ध सुधार हँुदै गएको उनले बताए ।
अर्को प्रसङ्गमा भट्टराईले नयाँ शक्तिले सकारात्मक सोच राखेर देशलाई समृद्ध बनाउन राजनिति गर्ने दावी गरे । पूराना पार्टीहरु आर्थिक समृद्धि र विकास गर्न नसक्ने भएका कारण नयाँ शक्ति जन्माउनु परेको उनले बताए । कांग्रेस, एमाले र एमाओवादीका नेताहरु भ्रष्टाचारमा लागेको उनले बताए । ‘चोर विरालोलाई दुधको रक्षा गर्ने जिम्मा दियो भने दुध सुरक्षित हुन्छ ?’ उनले प्रतिप्रश्न गरे ।
नयाँ शक्ति गोरखा संयोजकमा भट्टराई
नयाँ शक्ति नेपालले ऋषवदेव भट्टराईको संयोजकत्वमा शुक्रबार १७५ सदस्यीय गोरखा जिल्ला अन्तरिम परिषद घोषणा गरेको छ ।
उनी सशस्त्र प्रहरीका पूर्व एआईजी समेत हुन् । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको उपस्थितिमा परिषद घोषणा भएको हो । परिषद घोषणामा नेताहरुको जिम्मेवारी समेत तोकिएको थियो ।
ekantipur



