फाल्गुन २९, २०७२- अयोध्यापुरीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा शुक्रबार बाँदरमुढे घटनाका पीडित सबैको मुहार निन्याउरो थियो । पटक–पटक आफ्नो पीडा सुनाउँदा हैराउन भएका उनीहरूले सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीसँग पनि खासै आशा राखेनन् ।
बरु आक्रोशित मुद्रामा भन्दै थिए, ‘दोषीलाई कठघरामा उभ्याऊ, नत्र हामीलाई पटक–पटक कोट्याएर घाउ नबल्झाऊ ।’
बाँदरमुढे घटना संघर्ष समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले सबैलाई खबर गरेपछि पीडित आफ्ना कुरा राख्न भेला भए । तर माओवादी कार्यकर्ता देखेपछि उनीहरू सजिलै खुल्न सकेनन् । माओवादी कार्यकर्ता बाहिरिएपछि मात्र उनीहरूले पीडा सुनाए ।
चितवनको बगईबाट भरतपुरतर्फ जाँदै गरेको यात्रुबस साविकको कल्याणपुर–४ स्थित बाँदरमुढे खोलामा ०६२ जेठ २३ गते बिहान पौने ८ बजे माओवादीको विद्युतीय धरापमा परेको थियो । ३९ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
उपचारक्रममा थप तीनको मृत्यु भएको पीडितले बताए । ७२ जना घाइते भएका थिए । कति घाइतेले अझै औषधि खाइरहेका छन् । उनीहरूलाई कामधन्दा गर्न समस्या छ । सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ सदस्यहरूसहित पीडितको कुरा सुन्न त्यहाँ पुगेका थिए ।
पीडित शेषराज वाग्लेले भने, ‘तपाईंहरू आफैं सुरक्षित हुनुहुन्न भने हामी कसरी सुरक्षित हुने ? पीडितको सुरक्षा कसले गर्छ ? सरकारी संयन्त्र न्याय दिनको सट्टा दु:खेको घाउमा नुन/खुर्सानी छर्न आउँछ । घटनाबारे भन्दाभन्दा थाकिसक्यौं, अब पनि हाम्रो घाउ कोट्याउने काम नगरियोस् ।’ घटनाका घाइतेले दोषीलाई न्यायको कठघरामा उभ्याएपछि मात्र पीडितले न्याय पाएको महसुस गर्ने बताए ।
‘घटना घटाउने खुलमखुल्ला हिँडिरहेका छन्, तिनलाई कारबाही होस्,’ उनीहरूले भने, ‘यो मेलमिलाप गर्न नसकिने घटना हो, त्यही भएर दोषी को थिए, तिनलाई यो सजाय भयो भन्ने सुन्न पाइयोस् ।’
‘आलिसान गाडी चढेर आउने आयोगका सदस्यले घटनामा सम्बन्धितलाई मात्र राखेर छलफल गर्न सक्दैन,’ घटनामा बाबु गुमाएका शिवप्रसाद सुवेदीले भने, ‘सत्यतथ्य बुझ्ने आयोगले घटनामा सरोकार नभएकालाई राखेर छलफल गर्दा दु:ख लाग्यो ।’
अधिकांश पीडितले आफूलाई राज्यले बेवास्ता गरेको गुनासो गरे । ‘यो मानवताविरोधी अपराध हो, घटना घटाउने माओवादी हो, सबैलाई थाहा छ, त्यही भएर सत्य निरूपण होस्, घटना किन घटाइएको रहेछ थाहा पाइयोस् ।’
घटनामा दाहिने खुट्टा र दाँत भाँच्चिएर टाउकोमा चोट लागी लामो समयदेखि औष िसेवन गर्दै आएकी विष्णुमाया विकले आफूले भोगेको पीडा सुनाउँदासुनाउँदा वाक्कदिक्क भएको दु:खेसो पोखिन् । ‘अहिलेसम्म कतिलाई रुँदै पीडा पोखें,’ उनले भनिन्, ‘खै के भयो त ? न न्याय पाइयो, न दोषी पक्राउ परे, अब हामीलाई रुवाउने काम नगरियोस् ।’
घटनामा उनकी कान्छी छोरी सुस्मितासमेत घाइते भएकी थिइन् । ‘अहिलेसम्म कहींकतैबाट केही पाइएको छैन, बूढा मानसिक रोगी छन्, अब खाटो बसेको घाउलाई बारम्बार सोधेर
रित्तिन लागेको आँसु जबर्जस्ती कसैले पनि झार्न नलगाऊन्,’ उनले भावुक हुँदै भनिन्, ‘हामीलाई कसरी हुन्छ आफैं
दु:ख गरेर जीविका चलाउन पाए भयो ।’
आयोग अध्यक्ष गुरुङले घटनाबारे पीडितसँग प्रत्यक्ष भेटेर कुराकानी गरिएको बताए । पीडितले भनेका कुरा आयोगको टोलीले टिपोट गरेको छ । उनले आयोग सचिवालयले स्थानीय शान्ति समितिलाई फोन गरेर पीडितसँग कुरा गर्नेबारे जानकारी गराए पनि अरू कसरी आए भन्नेबारे आफूलाई थाहा नभएको बताए ।
आयोगका पाँचै सदस्य पहिलो पटक आएर घटनाबारे जानकारी लिएको उनले जनाए ।
ekantipur



