शिवप्रसाद उप्रेती
बारपाक (गोरखा): वैशाख १२ को भूकम्पले गाउँको १४७० घरधुरी एकैचोटी ढलेको १० महिना बितिसकेको छ । घरभित्रै पुरिएर ७१ जनाले ज्यान गुमाएको एक वर्ष बित्न लागिसकेको छ । तर अझै सरकारले पुनर्निर्माणमा उदासीना देखाएपछि भूकम्पको केन्द्रबिन्दू बारपाकका बासिन्दा धमाधम पुरानै ढाँचाको घर बनाउ थालेका छन् ।
अहिले गाउँका महिला, पुरुष बिहान आठ बजेदेखि साँझ ६ बजेसम्म घर निर्माणमा नै व्यस्त हुने गर्छन् । ‘तपाईँ नै हेर्न सक्नुहुन्छ, बिहान आठ बजेदेखि बेलुकी छ बजेसम्म गाउँभरि घर बनाउने काममा नै व्यस्त छन् सबै’ बारपाक ८ का चन्द्रबहादुर घले भन्छन्, ‘महिला, पुरुष, बूढापाका सबैजना घर बनाउने काम गर्छन् । महिला र बालबालिका पुरानो घरको ढुंगा, काठ पन्छाउने, घडेरी खार्ने, गर्छन् । लोग्ने छोरा गारो लगाउँदैछन् ।’ अहिलेसम्म गाउँको ५० प्रतिशत घर बनिसकेको उनको भनाइ छ । तर अधिकांश घर कच्ची रहेको उनी बताउँछन् । ‘सक्नेले त ढलान घर पनि बनाएका छन् । नसक्नेको चाहिँ पहिलेजस्तो बनाएका थिए, त्यस्तै हो’ उनले भने ।
वर्षैभरि अर्काको खेती गर्ने जग्गा ओगटेर बस्न मन नमानेर जसोतसो घर बनाउन बाध्य भएको अर्का स्थानीय गंगाबहादुर घले बताउँछन् । ‘सबैजना अर्काको जग्गामा बसेका थिए’ उनी भन्छन् ‘पहिले गहुँ, जौ छर्ने बेलामा पनि जग्गा खाली गर भने । गर्न सकिएन । अहिले मकै छर्ने बेलामा पनि जग्गा खाली गर भने । फेरि अटेरी गर्नु त भएन । त्यसैले जसोतसो घर बनाएर बस्न लागेको हो ।’ जसोतसो घर बनाए पनि सरकारी दुई लाख अनुदानको भने आशा लागेको उनको भनाइ छ ।
सँधै बारीको टहरोमा बस्दा समस्यै समस्या भएको स्थानीयको भनाइ छ । पहिले पनि बालबच्चा बिरामी भएको सम्झँदै उनी भन्छिन् ‘बर्खा नि टहरोमै बित्यो । हिउँद पनि टहरोमै बित्यो । फेरि बर्खा लाग्न लाग्यो । टहरोमा गर्मी हुने, सर्प, मुसा, जुगा, कीराफट्यांग्राले हैरान पार्छ । कति बस्ने टहरोमा ।’ बलियाबांगा टहरोमा बस्न सके पनि बूढाबूढी र बालबालिका टहरोमा बस्न नसक्ने भएकाले सरकारी पैसाको लोभ नगरी आफ्नै पाराको घर बनाउन थालेको उनले बताइन् ।
‘बूढाबूढी पनि हाम्रै घरमा जाम । पालमुनि मर्न चाहन्नम् भन्छन् । त्यसकारण जसरी भए पनि पुरानै घरमा फर्कने कोसिस गरेको’ उनी भन्छिन्, ‘बर्खाभरि पनि सरकारको मुख हेरेरै बित्यो । हिउदभरि हेर्यो, फेरि बर्खा लाग्न लाग्यो कुनै छाँट देखिएन ।’ आलोपालो (पर्म) गरेर घर बनाएको उनको भनाइ छ ।
बारपाकीलाई अहिले मकै रोप्ने र घर बनाउने चटारो छ । भर्खरै आलु रोपिसकेका उनीहरू अहिले मकै रोप्न ब्यस्त भएका हुन् । बेलामा पानी परेकाले उनीहरूलाई मकै रोप्न मौसम अनुकूल बनेको छ ।
भुइँचालो गएदेखि राहतमा आएको चामलले पेट पालेका बारपाकी यो वर्ष आत्मनिर्भर हुन खेतीपातीमा जुटेका हुन् । कृषि व्यवसायलाई बृहत् बारपाक विकास कृषक समूह, बारपाक हेल्प फाउन्डेसन, महिला जागरण समूह र जिल्ला कृषि विकास कार्यालयले सहयोग गरेको बारपाक ४ का जीत घले बताउँछन् । उनका अनुसार बृहत् बारपाक विकास कृषक समूहले सबैको सहयोगमा चार हजार किलो व्यवसायिक आलुखेती गरेको छ ।
खेती लगाइसकेर अहिले बारपाकी कोही घर बनाउन, कोही पुरानो भग्नावशेष हटाएर नयाँ बनाउने तयारीमा लागेको घले बताउँछन् । ‘गाउँमा अहिले हेर्नुस् कोही गिटी कुटिरहेका छन् । कोही भग्नावशेष हटाएर नयाँ घर बनाउने ठाउँ तयारी गरिरहेका छन्’ उनले भने ‘तर अहिले बनेका घरहरू कुनै पनि भूकम्प प्रतिरोधी छैनन् ।’ सरकारले मान्यता नदिने भए पनि लामो समय टहरोमा बस्दा बस्दै हैरान भएर गाउँलेहरू कच्ची घर बनाउन बाध्य भएको उनले बताए ।
यसैबीच सबै लाप्राकीको घर बनाइदिने प्रतिवद्धता जनाएको गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेलगायतको टोलीले लाप्राकी बस्दै आएका गुप्सीपाखाको अबलोकन गरेका छन् । घले, अस्ट्रेलियन (सिनेटर) श्याम डेस्टरी, पुनर्निर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठ, एनआरएनका पुनर्निर्माण संयोजक गणेश केसीलगायतको १२ जनाको टोलीले सोमबार अबलोकन गरेका हुन् । उनीहरू श्री एयरलाइन्सको दुई वटा हेलिकोप्टर चार्टर गरेर लाप्राक आइपुगेका थिए ।
लाप्राकीसँग भेटघाट कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष शेष घलेले सबै लाप्राकीका लागि छ सय १६ वटै घर निर्माण गर्न आफूहरू तयार भए पनि सरकारी ढिलासुस्तीका कारण समस्या भएको बताएका थिए । ‘हामी सबै लाप्राकीको घर बनाइदिन तयार छौं । सरकारलाई निवेदन पनि दिएका छौं’ उनले भने ‘तर सरकारले अहिलेसम्म हामीलाई अनुमति दिएको छैन ।’ अनुमति पाए एनआरएनले शिक्षा, स्वास्थ्य क्षेत्र र विद्युतीकरणका लागि पनि लगानी गर्न तयार रहेको उनले बताएका थिए ।
annapurnapost



