फोटो :जनकपुरमा मधेस आन्दोलनको क्रममा सडकमा विरोध गर्दै महिला नेतृ ।
मनिका झा
जनकपुरधाम: मधेस आन्दोलनमा जनकपुरका केही महिला नेतृहरू अहोरात्र खट्थे । घरको दैनिक धन्दासमेत छाडेर सडकमा जुलुस र विरोधसभामा भाग लिने गरेका विभिन्न मधेस केन्द्रित दलहरूमा आवद्ध महिला नेतृहरू ठोस नतिजाबिना आन्दोलन स्थगन गर्दा शीर्ष नेतृत्वले एकपटक आफूहरूसँग सल्लाहसमेत नलिएपछि रुष्ट भएका छन् ।
मधेस आन्दोलनमा अग्र पंक्तिमा देखिने गरेकी तराई–मधेस लोकतान्त्रिक पार्टीकी नेतृ रेणु झाले नारी दिवसको अवसरमा जनकपुरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको बेला भनेकी थिइन्, ‘जति सुकै दिवस मनाए पनि नारीलाई न घरमा सम्मान छ न त राजनीतिमा ।’ नारी दिवसमा महिला समानताका कुरा गरिए पनि तिनै दलका नेताहरूले पार्टीभित्र महिलालाई बोल्नसमेत नदिने झा बताउँछिन् ।
उनले भनिन्, ‘आन्दोलनका बेला प्रहरीको प्रतिकार गर्दा कुटाइ खानेदेखि जेल पर्ने पनि महिला पुरुषभन्दा कहीँ कम थिएनन् तर महिलालाई कमजोर र अज्ञानी भनेर जहिले पनि पछि पार्ने गरिएको छ ।’
‘अधिकारका लागि भन्दै मधेस आन्दोलनमा छ महिनादेखि तन, मन र धनले म र मजस्तै महिला लाग्यौं, कतै भेला हुनुपर्दा, लाठी लिएर जुलुसमा अगाडि हिँड्नु पर्दा मात्र महिलालाई खोजिन्छ तर कुनै निर्णायक बैठकमा कहिले पनि बोलाइँदैन । अब मधेसमा महिला समानताका लागि आन्दोलन गर्नु आवश्यक छ,’ रेणुले भनिन् ।
‘मधेसमा महिलालाई घरमा समेत घुम्टोभित्र बस्नुपर्ने र कुनै प्रकारको निर्णय लिँदा रायसमेत लिइँदैन’, सद्भावना पार्टीको महिला मञ्चकी महासचिव विभा ठाकुरले भनिन्, ‘घरबाटै संघर्ष गरी राजनीतिमा आउने महिलालाई अझ बढी शोषण र विभेदको सामना गर्नु परिरहेको छ ।’
पहिलाका आन्दोलनमा पुरुषले केही महिलालाई देखाउनका लागि प्रयोग गरे पनि अहिले चेतनाको स्तरमा वृद्धि भई महिला स्वयं पनि नेतृत्व लिनका लागि सडक संघर्षमा सहभागी हुने गरेका छन् । तर पुरुषले क्षमता हुँदाहुँदै पनि विभिन्न प्रकारका बाधा अड्चन खडा गरी महिलालाई पछि पार्ने गरेको ठाकुरको भनाइ छ ।
अधिकारकर्मी भारती झाको भोगाइ पनि उस्तै छ । ‘विशेष गरी घरबाट निस्केर राजनीतिमा, जागिरमा वा कुनै पनि पेसा अवलम्बन गर्न खोज्ने महिलालाई चारित्रिक रूपमा लाञ्छना लगाउने, उनीहरूप्रति हेय दृष्टिले हेर्ने प्रवृत्तिका कारण नारी समानताको कुरा व्यावहारमा लागू हुन नसकेको हो’, उनले भनिन् ।
‘पुरुषहरू राजनीतिमा लाग्दा उनीहरूलाई नेता भनी जहाँ सम्मान गर्ने गरिन्छ । त्यहीँ महिलाहरू राजनीतिमा लागे भने उनीहरूलाई उद्दण्ड, काम नपाएका, बढी जान्ने जस्ता उपमाले समाजमा नकारात्मक दृष्टिले हेर्ने प्रवृत्ति छ । यसले गर्दा मधेसी महिलाहरू राजनीतिक रूपमा अगाडि बढ्न सक्दैनन्’, भारती झाले भनिन् ।
नारी समानता र अधिकारकै लागि भनेर धनुषामा मात्रै दर्जनौं सरकारी र गैरसरकारी संघसंस्था कार्यरत छन् । लाइफ नेपालका प्रमुख सुरैत ठाकुर तिनीहरूको निरन्तरको प्रयासका कारण ग्रामीण क्षेत्रमा महिला संगठित हुने, आयआर्जनको काममा सहभागी हुने र समूहगत बैठक गरी सामाजिक विकासका कार्यमा चासो लिने प्रयास गर्न थालेको बताउँछन् ।
तर घरायसी रूपमा नै महिला पुरुषबीच बनाइएको विभेदको ठूलो खाडल भर्न अझै पनि दसकौं लाग्ने उनको भनाइ छ । दिवस मनाएर मात्र नारी समानताको कुरा गर्नुभन्दा पनि आर्थिक, सामाजिक र राजनीतिक रूपमा अति नै पछि परेका मधेसी महिला आफैं एकतावद्ध भई अधिकारको पक्षमा नयाँ प्रकारको आन्दोलन वा अभियान चलाउनु आवश्यक रहेको झाको भनाइ छ ।
annapurnapost





















