कुमार लुइँटेल
फोटो :फाइल फोटोविराटनगर: प्रधानमन्त्री शेपी शर्मा ओलीले नेपालको संविधानले देशमा बसोबास गर्ने सबै जातजातिको हक अधिकारलाई सुनिश्चित गरेको बताएका छन्।
नेकपा एमालेको तीन महिने संविधान अभियानअन्तर्गत प्रदेश नम्बर १ ले बिराटनगरमा शनिबार गरेको आमसभालाई सम्बोधन गर्दै उनले आदिवासी जनजाति, मधेसी, दलित र महिलालगायत सबैको अधिकारलाई भेदभाव नगरी सम्बोधन गरिएको बताए।
‘संविधानमा कसैलाई काखा अनि कसैलाई पाखा कदापि गरिएको छैन’, उनले भने, ‘आदिवासी, जनजाति, मधेसी, दलित, महिलालगायत सबैको हक अधिकार समेटिएको छ, विश्वास नलागे संविधान पल्टाएर पढ्नुस्।’
प्रधानमन्त्रीले सरकार संविधान कार्यान्वयनप्रति प्रतिबद्ध रहेको पनि बताए । उनले संविधान कार्यान्वयनको बाटोमा सरकार अघि बढिसकेको भन्दै कानून र आयोग तयारी त्यसको तयारीमा जुटेको जानकारी दिए।
पूर्वतयारी गरेर ल्याएको संविधानमा मधेसीको हक अधिकार पूर्णरुपमा समावेश गरिएको भन्दै उनले संविधानबारे नेताहरुले मधेसी जनतामा भ्रम फैलाएको बताए।
प्रम ओलीले भूकम्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर विकास निर्माणको काम सरकार लागि परेको बताए।
आफ्नो भारत भ्रमणको प्रसंग कोट्याउँदै उनले नेपाल-भारतबीचको सम्बन्धमा सुधार आइसकेको दाबी गरे। ‘भारतले गरेको नाकाबन्दीले नेपाल र नेपाललीलाई धेरै क्षति पुर्यायो’, उनले भने, ‘तर मेरो भ्रमणले नेपाल-भारत सम्बन्धमा सुधार आइसेकेको छ। अब एकजुट भएर काम गर्ने समय आएको छ।’
यस्तै एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सभालाई सम्बोधन गर्दै संविधानमा मधेसी,जनजातिलगातका लागि विशेष अधिकारको समेत व्यवस्था गरिएको बताए।
उनले संविधानमै संवैधानि आयोगको समेत व्यवस्था गरिएकोले कुनै शंका नगर्न आग्रह गरे।
यस्तै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशमा संविधान आइसकेकाले अब नेपालीको हातहातमा पुर्याउनुपर्ने बताए। उनले संविधानपछि अब देशलाई विकास बाटोमा लैजानुपर्ने बताए।
यता, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पहिलो र दोस्रो संविधानसभाको प्रतिनिधिहरुको लामो बहस र छलफलपछि संविधान आएकोले यसमा शंका नगर्न आग्रह गरे।
‘पहिलो र दोस्रो संविधानसभामा नेपाली जनताका प्रतिनिधिहरुले ५ वर्ष ८ महिनासम्म व्यापक छलफल गरेर सबैको हकअधिकारलाई सुनिश्चित गरेको छ’, उनले भने, ‘यसमा कसैको केही छुटेको छैन्, छुटेको भए जनताका प्रतिनिधिहरुले आफै संशोधन गर्नेछन्।’
annapurnapost



