जस तपाईँ लिनुस्, अपजस मलाई दिनुस्
आन्दोलन चलिरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट पुस २ गते राति अत्यन्तै प्रसन्न देखिए ।
उनी पटक-पटक हाँसे, र कोठामा भएका व्यक्तिहरुसँग हात मिलाएर खुशी साटे । ‘आज धेरै हल्का महसुस भएको छ’ उनले सबैको सामु भने-‘सोचेजस्तो हुँदोरहेनछ । मिलाएर चलेमा सबै कुरा सहज हुँदोरहेछ ।’
प्रसङ्ग हो-झण्डै एक महिनादेखि ठप्प रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल खुलाउने सम्बन्धी सर्वपक्षीय बैठकको ।
अस्पतालको बैठक कक्षमा बसेको बैठक निष्कर्षमा पुगेपछि उनले भनिहाले-‘सप्तरीको बारेमा जे सोचेको थिएँ, ती सबै गलत निस्कियो । आखिर राम्रो विचार राखेर अगाडि बढेमा यहाँ जे पनि सम्भव छ ।’
जिल्ला आएदेखि भेट गर्ने प्रायः सबैको विचार र भावना सकारात्मक देखेको बताउँदै उनले आफूले पनि सबैको सहयोगले जिल्लामा राम्रो काम गरेर देखाइदिने बताए । उनले थपे- ‘अस्पताल खुलेसँगै अन्य कामहरु अगाडि बढाउनुपर्ने आवश्यक्ता छ । यसबारे सबै पक्षसँग छलफल गरेर अगाडि बढ्नेछु ।’
अकस्मात सप्तरी जान भन्दा तर्सिए
भट्ट ६ मंसिरमा काठमाडौंबाट परिवारसहित धादिङ्गस्थित घर जाँदै थिए । त्यही बेला गृह मन्त्रालयबाट फोन आएको र सप्तरीको नाम सुन्नेबित्तिकै आफू तर्सिएको अनलाइनखबरलाई सुनाए ।
उनले भने, गाडी चलाइरहेकै अवस्थामा मलाई फोन आयो । र, भनियो तपाईं जहाँ भएपनि ‘प्लेन’ को टिकट बनाइहाल्नुस् । सप्तरी जानुपर्छ प्रमुख जिल्ला अधिकारी भएर । म अक्क न बक्क भएँ ।’
सप्तरी तनावग्रस्त रहेको र दुई जनाको ज्यान गएकोबारे उनले सुनेको थिए । उनले भने-‘त्यसमा पनि प्रमुख जिल्ला अधिकारी भएर सप्तरी नै जानुपर्छ सुनेपछि भित्रबाट कस्तो-कस्तो भयो ।’
गाडीमा आफूसँगै रहेका आमाबुवाले सोधे ‘के भो ? कहाँ जानुपर्ने हो ?’ भट्टले भने सप्तरी जानुपर्छ भन्ने सुनाउनेवित्तिकै आमाबुवा चिन्तित भए । आमाबुवाले भनेको भट्टले सम्झिए ‘जसरी पनि मन्त्रालयलाई मनाऊ । त्यहाँ जानु ठीक हुँदैन् भनेर भनेपछि आफूलाई पनि केहि बेर त्यस्तै गरौं कि भन्ने लाग्यो ।’
यसअघि तराई/मधेसमा जागिर नगरेका उनलाई तराईका मान्छेहरुले गाली गर्छन्, कुटपिट गर्नेतर्फ उन्मुख हुन्छन् भन्ने सुनेको थिए । उनले भने-यस्तै यस्तै कुराहरु खेलाइरहँदा एक्कासी सप्तरी जानेमा एकमत भएँ । मेरो मनले सप्तरी गइहालौं भनेपछि विराटनगरका लागि प्लेनको टिकट बनाउन लगाएँ ।’
एकछिनमा पुनः मन्त्रालयबाट फोन आएको बताउँदै भट्टले भने-त्यो फोन त प्लेनको टिकट बनाइयो कि बनाइएन भन्ने ताकेदा रहेछ ।’
मन्त्रालयले १२ बजेकै टिकट बनाउन भनेकोमा ४ बजेको टिकट बनाएपछि जतिसक्दो छिटो सप्तरी पुग्न निर्देशन दिँदा सँगै रहेका परिवार भने चिन्तामा डुबेको थियो । उनले भने-‘मैले सबैलाई सम्झाएँ, “केहि हुँदैन चिन्ता नलिनुस् ।”
यसअघि विमानस्थलको अध्यागमन विभागमा कार्यरत रहेका भट्ट ७ मंसिरको राति सप्तरी पुगेका थिए ।
सोचेको भन्दा ठीक विपरित रहेछ
तनावपूर्ण स्थितिबाट गुजि्ररहेको समयमा प्रमुख जिल्ला अधिकारीको रुपमा सप्तरी आएका भट्ट सुरुमा त केहि त्रसित नै रहेको सुनाउँछन् ।
तर, सुरक्षा अधिकारी, कर्मचारीसँगको पहिलो भेटमै मनभित्रका सबै उकुसमुकुस हटेको उनले सुनाए । सप्तरी पुगेको भोलिपल्ट नै सञ्चारकर्मी, अधिकारकर्मी, नागरिक समाज, व्यापारीहरुको संयुक्त अन्तरकृया गरेपछि मनभित्र रहेका अन्य सांकोचहरु विलिन भएको भट्टले बताए ।
‘जस्तो सुनेको थिएँ, त्यसरी होइन रहेछ तराई मधेसको सप्तरी जिल्ला’ उनले भने-‘यहाँका व्यक्तिहरुको सदासयपूर्ण व्यबहारले एकदमै उत्साहित भएको छु । बाहिर जसरी नकारात्मक हल्ला सुनिन्छ त्यस्तो छैन सप्तरी ।’
उनले अघि भने-‘सप्तरीजस्तो सजिलो तरिकाले काम गर्ने अन्य छैन । यहाँ त काम गर्नका लागि सबैले सहयोग गर्दा रहेछन् । आगामी दिनमा यो जिल्लामा केहि न केहि रुपान्तरण हुनेमा आशावादी छु ।’
जस लिनुस्, अपजस मलाई दिनुस्
एक महिनादेखि बन्द रहेको अस्पताल तथा स्वास्थ्य संस्थाहरु खुलेपछि चिकित्सक, अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी, कर्मचारीसहित बिभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी रहेको थलोमा भट्टले भने-‘जस जति सबै तपाईँहरु नै लिनुस्, अपजस जति म लिन तयार छु ।’
‘अपजसको मतलव गालीगलौज र घृणा होइन’ उनले अघि भने-“कतै राम्रो र सकारात्मक काम हुन्छ भने त्यसका लागि अपजसको भागिदारी हुन तयार हुन्छु । जस तपाईँहरु नै लिनुहोला ।’
onlinekhabar



