फाल्गुन १४, २०७२- *एयर काष्ठमण्डपको जहाज कालिकोटको चिल्खयामा आकस्मिक अवतरण गरिएको छ । अवतरणको क्रममा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले बताएका छन् । उनका अनुसार घटनास्थलमै चालक दिनेश न्यौपाने मृत्यु भएको हो भने अर्को मृतकको सनाखत हुन बाँकी रहेको छ ।
घटनास्थलमा रहेका स्थानीयबासी कमल शाहीको अनुसार अहिले जहाजको अगाडिको भाग जलिरहेको छ । आगो निभाउने प्रयास जारी रहेको छ ।
नेपालगन्जबाट जुम्लाको लागि शुक्रबार मध्यान्ह १२ बजेर १६ मिनेटमा उडेको नाइनएनएजेवि जहाज चिल्खयामा आकस्मिक अवतरण गरिएको हो । सिंगल इन्जिनयुक्त सो जहाजमा चालकदलका २ सदस्य सहित ११ जना सवार थिए ।
नेपालगन्ज विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरका अनुसार सिंगल इन्जिनयुक्त सो जहाजमा चालकदलका २ सदस्य सहित ११ जना सवार थिए । केही यात्रुहरुको अवस्था गम्भीर रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाबाट अहिले दुर्घटनास्थलतर्फ स्वास्थ्यकर्मी पठाइसकिएको छ । घाइतेहरुलाई नेपालगन्जस्थित मेडिकल कलेजमा उपचारको लागि श्री एयरलाइन्सको हेलिकप्टरमार्फत ल्याइँदै छ ।
मन्त्री पोखरेलका अनुसार घटनास्थलतर्फ उद्धारको लागि नेपाली सेनाको २ वटा र सिम्रिक एयरको एउटा हेलिकप्टर पठाइएको छ । उनले भने, ‘हामीले घाइते यात्रुहरुको चाँडै भन्दा चाँडै उद्धार गर्ने प्रयास गरिरहेका छौँ ।’
नेपालगन्जस्थित नागरिक उड्डयन कार्यालयका कर्मचारीका अनुसार घटनास्थलबाट यात्रुहरुले बारम्बार फोन गरेर उद्धारका लागि हेलिकप्टर पठाउन आग्रह गरिरहेका छन् ।
घाइतेहरुको उद्धारको लागि नेपालगन्ज र पोखरामा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
जहाजमा यात्रारत यात्रुहरुमा ३५ वर्षीय गणेश भट्टचन, ३५ वर्षीय मेघराज गिरी, २५ वर्षीय जगदम्बा खत्री, १६ वर्षीया सोनाली भट्टचन, ३० वर्षीयालक्ष्मी सुनार, गोविन्द भण्डारी, ३४ वर्षीय लक्ष्मण खड्का, ३१ वर्षीय धनन्जय खत्री र खत्री थरकी एक बालिका रहेका छन् ।
ekantipur



