यम विरही
फोटो :फाइल फोटोकाठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राजनीतिक आडमा दण्डहीनता मौलाएको उल्लेख गर्दै सामान्य प्रशासनिक विषयलाई पनि नीतिगत संरक्षण दिने अभ्यास भ्रष्टाचार नियन्त्रणमा बाधक भएको बताएका छन् ।
अख्तियारको वार्षिकोत्सव एवं रजत महोत्सवका अवसरमा वक्तव्य जारी गरी कार्कीले बिहीबार आयोगको कारबाहीबाट उन्मुक्ति पाउने मनसायले सामान्य प्रशासनिक विषयसमेत मन्त्रिपरिषद्बाट निर्णय गराउने परिपाटीलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् । यस्ता पदाधिकारीमाथिको निगरानीलाई सशक्त पारिने उनले उल्लेख गरेका छन् ।
सिन्डिकेट, कार्टेलिङ, गुन्डागर्दी, माफियातन्त्र, बहु ट्रेड युनियनको अभ्यासजस्ता विकृतिले मुलुकमा लगानीका अवसर निरुत्साहित भएको र त्यसका कारण प्रतिस्पर्धात्मक व्यापारव्यवसाय गर्ने वातावरणसमेत प्रभावित बनेको पनि उनले बताएका छन् । ‘एकाधिकार, कृत्रिम अभाव, कालोबजारीका कारण आमउपभोक्ता गुणस्तरहीन वस्तु र सेवाका लागिसमेत चर्को मूल्य तिर्न बाध्य छन्’, कार्कीले भनेका छन् ।
तस्करी, कालोबजारी र कृत्रिम अभावले मुलुकको अर्थतन्त्र छियाछिया हुने जोखिम बढेकोतर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् । नागरिकता, राहदानी, वैदेशिक रोजगार, मालपोतजस्ता बढी जनसरोकार राख्ने कार्यालयमा दलाल र बिचौलियाका कारण सेवाप्रदायकको पहुँच प्रभावित भएको उल्लेख गर्दै कार्कीले भनेका छन्, ‘यतिमात्र होइन, राजनीतिक संरक्षणको आडमा यस्ता प्रवृत्तिहरू अझ मौलाउँंदै जाँदा समाजमा दण्डहीनता र अराजकता बढ्दै गएको देखिन्छ ।’
दिनहुँ घूस लिँदै गरेको अवस्थामा रंगेहात अख्तियारको नियन्त्रणमा परेको देख्दादेख्दै किन कर्मचारीमा फेरि पनि भ्रष्ट मनोवृत्तिले राज गरिरहेको छ भन्दै कार्कीले देशका लागि शपथ लिएका व्यक्तिले समयमा निर्णय नगर्ने वा गलत निर्णय गरेका कारण कसैको मौलिक हक हनन भए पनि त्यसको जिम्मेवारी नलिने कार्य देशका लागि धोका भएको बताएका छन् ।
अन्तरिम संविधानमा रहेको आयोगको अधिकार क्षेत्रलाई नयाँ संविधानमा संकुचन गरिएको भन्दै कार्कीले चिन्ता व्यक्त गरेका छन् । उक्त कार्यले भ्रष्टाचार नियन्त्रणको प्रयासमा शिथिलता आउने आशंकाले गम्भीर तुल्याएको उनको भनाइ छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धिलाई अनुमोदन गरिसकेको अवस्थामा आयोगलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकतालाई ‘नजरअन्दाज’ गर्दै कार्यक्षेत्र सीमित गर्न खोज्नु अर्थपूर्ण रहेको उनले बताएका छन् । ‘यद्यपि, व्यक्तिलाई लक्षित गरी संस्थाको महŒव र गरिमालाई नजरअन्दाज गर्ने प्रयास भएको हो भने यो भाबी पुस्ताका लागि ठूलो अभिशाप हुनेछ भन्ने मेरो ठम्याइ छ’, कार्कीको वक्तव्यमा उल्लेख छ ।
कार्कीले संविधान संशोधनमार्फत अख्तियारलाई स्वतन्त्र र थप अधिकार सम्पन्न गराउने भूमिकाका लागि पहल गरिदिन पनि आग्रह गरेका छन् । उनले मुलुकको बृहत्तर विकासका लागि दुई ठूला अर्थतन्त्रबीच नेपाललाई ‘ल्यान्ड लिंक’ देशका रूपमा विकास गर्नसकेमा विदेशी लगानी, औद्योगिक विकास र व्यापार प्रवद्र्धनमा ठोस उपलब्धि हासिल हुनसक्ने बताएका छन् ।
छिमेकी मुलुकसँग सीमाको व्यवस्थापन र सडक सञ्जाल विकास हुन सकेमात्र मुलुकको विकासमा ठोस उपलब्धि हुनसक्ने उनको भनाइ छ ।
कार्कीले नुनदेखि सुनसम्म, गाविसदेखि केन्द्रसम्म हरेक क्षेत्रमा अख्तियार पुगोस् भन्ने अपेक्षाको सम्बोधन गर्न सहज नभएको बताएका छन् । कार्कीले अख्तियारद्वारा सुधारको पहल गर्दा कार्यकारी भूमिकामा उत्रन खोजेको भन्दै लगाइएको आरोपप्रति खेद व्यक्त गरेका छन् ।
एकथरी बुद्धिजीवी र सञ्चार संस्था जतिसुकै सकारात्मक कार्य गरे पनि आफूसँग असहमत हुनेको सधैं उछित्तो काढ्न पल्केको भन्दै कार्कीले त्यस्ता प्रवृत्तिबाट सत्यको ढाकछोप र झूटलाई पक्षपोषण गर्ने गरिएको आरोपसमेत लगाएका छन् ।
भ्रष्टाचारको ‘प्रसेप्सन’ मा आधारित सूचकको अंक र स्तरको आधारबाट अख्तियारको सफलता र असफलताको निष्कर्ष वस्तुपरक नहुने उनको भनाइ छ । वैदेशिक सहायताका आडमा सञ्चालित कतिपय गैरसरकारी संस्थाले नेपाल र नेपालीको आवश्यकताभन्दा प्रायोजित संस्थाको एजेन्डा अघि सारेर पारदर्शिता र जबाफदेहिताको वकालत गरिरहेकोप्रति कार्कीको आपत्ति छ ।
‘जनहितको आवरणमा छद्म भेषमा सञ्चालित यस्ता संस्थाको पारदर्शिता र जबाफदेहिता कसैप्रति हुनुपर्ने हो कि होइन ? वा त्यस्ता निकायको जिम्मेवारी र जबाफदेहिता पाँचतारे होटेलका सभाहलमा लोकार्पण गरिएका रंगीन प्रतिवेदनमा मात्र भए पुग्छ ? ’ कार्कीको प्रश्न छ ।
उनले राजस्व बुझाउने जिम्मेवारीबाट भाग्न खोज्ने तर सार्वजनिक मञ्चमा ठूलो स्वरमा अर्तीउपदेश दिने व्यक्ति र घरानाको वास्तविक पहिचान हुनुपर्ने तथा राज्य कठोरतापूर्वक प्रस्तुत हुनुपर्ने पनि बताएका छन् । राजस्व छली गम्भीर अपराध रहेको बताउँदै उनले जनअपेक्षाअनुरूप भ्रष्टाचारविरुद्ध कारबाही अघि बढाउन खोज्दा आलोचनाको स्वर उठ्ने गरेको प्रसंग पनि उल्लेख गरेका छन् ।
‘आयोग नेतृत्वप्रतिको आक्रोश महाभियोगको तहसम्म लक्षित भएको छ । आयोगविरुद्ध कस्तो आग्रह हो ? ’ कार्कीले वक्तव्यमा भनेका छन्, ‘ईश्वरप्रतिको अखण्ड आस्था र विश्वासको जगमा म आफ्नो कर्तव्यप्रति सदा अडिग छु । कुनै धाकधम्कीले लहैलहैमा लागी म कदापि कर्तच्यूत हुने र डग्मगाउनेछैन ।’
भ्रष्टाचारविरुद्धको कारबाहीमा जुनसुकै चुनौतीको सामना गर्न र मूल्य चुकाउन तत्पर रहेको सन्देश पनि उनले दिएका छन् ।
annapurnapost




















