शिवप्रसाद उप्रेती
फोटो :सरकारले कुनै योजना नल्याएपछि आफैं घर बनाउँदै केरौंजाका बासिन्दा । अन्नपूर्णकेरौंजा (गोरखा): जाडो खप्न नसकेपछि गोरखा केरौंजाका भूकम्पपीडितले धमाधम आफ्नै तरिकाले घर बनाउन थालेका छन् । यहाँका पीडितले माटोबिनाको ढुंगे पर्खाल लगाएर दुईतले घर बनाउन थालेका हुन् । वडा नम्बर १, २, ३ र ४ मा मात्र करिब डेढ सय यस्ता घर निर्माण भएका छन् ।
सरकारी राहतको १५ हजार रुपैयाँ घरखर्चमै सकेका चार सय ६५ घरधुरी अहिले त्रिपालको टहरोमा बस्दै आएका छन् । धमाधम बनेका सबै घर पुरानै ढाँचाका छन् । ‘सरकारलाई पर्खंदापर्खंदै मरिएलाजस्तो भयो’, धमाधम घर बनाउँदै गरेका काजी गुरुङ भन्छन्, ‘सरकारले दुई लाख दिने कहिलेकहिले ? जाडोले मर्न लागिसकियो अहिले । त्यो दुई लाख हामीलाई काम छैन ।’
अब अर्काको मुख ताकेर नबस्ने उनको भनाइ छ । उनले ढुंगाको गारो र जस्ताको छानो लगाएर घर बनाउने बताए । कतिपयले भने त्रिपालको छानो लगाएर घर बनाएका छन् । सरकारी नमुना नआई नबनाउनु भन्दा पनि गाउँलेले अटेर गरी घर बनाएको सामाजिक परिचालक रस्मिता गुरुङ बताउँछिन् ।
‘सरकारले मोडल दिएपछिमात्र बनाउनु भन्यो, मान्दैमान्दैनन् । धमाधम बनाउन थाले’, उनले भनिन्, ‘भूकम्पप्रतिरोधी घर बनाउन सरकारले सिकर्मी, डकर्मी तालिम दिन्छ । दुई लाख रुपैयाँ पनि दिन्छ अनिमात्र घर बनाउनुपर्छ भनेर जति भने पनि गाउँले भोलिको कुरा भोलि हुन्छ, जाडो अहिले हुन्छ भन्छन् । हाम्रो कुरा मान्दैनन् ।’
गाउँलेले भत्केका घरको ढुंगा र काठ प्रयोग गरेर घर बनाएका हुन् । जाडोका कारण आफूहरूले सरकारी दुई लाख रुपैयाँको लोभ पनि नगरेको उनीहरूले बताए । सरकारले दिने दुई लाख रुपैयाँले राहत नहुने केरौंजाबासीको गुनासो छ ।
मोटरबाटो नपुगेको केरौंजामा सरकारी मापदण्डअनुसारको घर बनाउँदा दुई लाखले राहत नहुने अर्का स्थानीय सुकबहादुर गुरुङको भनाइ छ । उनका अनुसार गाउँलेको बाह्य आयस्रोत छैन । ‘सदरमुकामबाट हिँडेर आइपुग्न दुई दिन लाग्छ’, उनी भन्छन्, ‘सरकारी मापदण्डअनुसार घर बनाउन सिमेन्ट, रड, गिट्टी र बालुवा चाहिन्छ । त्यो किन्नसक्ने गाउँलेको क्षमता छैन ।’
सबैले एकैचोटि घर बनाउँदा कामदार नपाउने भएकाले पनि हतार गरेर घर बनाउन थालेको स्थानीय बासिन्दाको भनाइ छ । सरकारी तथ्यांकअनुसार केरौंजा जिल्लाकै गरिबीको रेखामुनि रहेको दोस्रो गाविसमा पर्छ । ‘यहाँका अधिकांश गाउँले पर्यटकको भारी बोक्ने, घर बनाउने काम गरेर पेट पाल्छन्’, गाविसका पूर्वअध्यक्ष सुकबहादुर गुरुङ भन्छन्, ‘अरू सबैजना खेतीकिसान र भेडागोठाला छन् ।’
त्रिपालको टहरोमा हिमालको हावा पसेर जाडोले सताएको स्थानीय शर्मिला गुरुङ बताउँछिन् । ‘राति भएपछि हावा चल्छ’, उनी भन्छिन्, ‘कतिपटक त राति हावाले टहरै उडाएर बिहान फेरि बनाउनुपरेको छ ।’
annapurnapost




















