भूकम्पको केन्द्रविन्दु बारपाकका अधिकांश व्यक्ति नेपाली, भारतीय र ब्रिटिस सेनामा जागिरे घर–परिवारका छन्। उनीहरु आफैं घर बनाउन नसक्ने पनि छैनन्। तर, सरकारले बनाइदिन्छ भने किन खर्च गर्ने भन्ने सोचले उनीहरु राहत कुरिरहेका छन्। ‘सरकारले कहिले २ लाख, कहिले १५ लाख दिने त कहिले घर नै बनाइदिने आश्वासन दिइरहेको छ, त्यसै पाउने भए कसले गर्छ खर्च?’ घलेले भने।
अहिले हिउँले ढपक्कै ढाकिएको लाप्राकको गुप्सीपाखा २ हजार ७ सय मिटर उचाइमा पर्छ। जाडो मौसममा सधैँ हिमपात हुने यो ठाउँमा भूकम्पपीडितका पाँच सयभन्दा बढी टहरा छन्। लाप्राककै पुरानो बस्ती पनि शुक्रबार हिउँले ढाकिएको थियो तर गुप्सीपाखामा भन्दा कम। स्थानीयका अनुसार त्यहाँको हिउँ दुई दिनमै बिलायो। तर, गुप्सीपाखाको हिउँ सातासम्म पग्लिएको छैन। हिउँको चिसो थेग्न नसकेपछि लाप्राकवासी भग्नावशेष पन्छाउँदै पुरानै थाँतथलोमा फर्कन थालेकोे लाप्राकका मार्सिङ गुरुङले बताए। भूकम्पलगत्तै सबै घर भत्किएपछि पुरानो बस्ती बस्नयोग्य नभएको प्राविधिक टोलीले निष्कर्ष निकालेको थियो। तर, बस्ती स्थानान्तरण गर्न समय लाग्ने भन्दै सरकारले प्रक्रिया अघि बढाएन। टहरामा टिक्नै नसकेपछि अधिकांश पीडित त्यही पुरानो भग्नावशेष पन्छाउन बाध्य छन्।
लाप्राकमा पनि अधिकांश घरपरिवारबाट कोही सेनामा त कोही ट्रेकिङ क्षेत्रमा कार्यरत छन्। जाडो थेग्नसक्ने सामान्य खालको घर आफैं पनि बनाएर बस्न सक्थे तर सरकारले बनाइदिन्छ भन्दै बस्दा अहिले समस्यामा परेका छन्। ‘मापदण्ड बनाएर सरकारले घर बनाइदिन्छ भन्ने सुनियो, त्यसैले आफैं बनाउनतिर लागिएन,’ लाप्राककी खुसी गुरुङले भनिन्, ‘तर नौ महिनासम्म टहरामै अडिनुपर्योय, अहिले हिउँको सिरानी हालेर सुत्नुपरेको छ।’
भूकम्पपछि रातो कार्ड पाएका पीडित सरकारी राहतको आसमा सकसले दिन काटिरहेका छन्। घर बनाएर बस्दा सरकारले दिने अनुदान र सरकारी योजनाअनुसार निर्माण भएन भने राज्यले दिने अन्य सुविधा नपाउने डरले पीडित घर बनाउन हच्किएको स्थानीय विकास अधिकारी प्रेमराज गिरी बताउँछन्। ‘पीडितलाई सरकारले दिने पैसाको आशा छ, आर्थिक अवस्था कमजोर भएकाले मात्रै होइन, आफैं बनाउन सक्नेले पनि राहत पर्खेर बसेको देखिन्छ,’ उनी भन्छन्, ‘सित्तैमा घर पाइन्छ भने किन खर्च गर्नु, केही समय त्रिपाल र टहरामै बसुँ भनेर कुरेका हुन्।’
सरकारले पुनर्निर्माणबारे सर्वसाधारणलाई बुझाउन नसक्दा भूकम्पपीडित अलमलमा परेका छन्। ‘बनाउने भए तत्काल निर्माण गरिदेऊ, नबनाउने भए आशा नदेखाऊ,’ चुम्चेतका बोटे लामाले आक्रोश पोखे।
nagariknews


