पुस २५, २०७२- भूकम्पपीडितले शरण लिएको शिविर र अस्थायी टहरोसम्मै हिमपात भएपछि यहाँको जनजीवन चिसोले कष्टकर भएको छ ।
भूकम्पबाट अति प्रभावित बारपाक, लाप्राक, गुम्दा, करौंजा, उहिया र सिर्दिबाससहित उत्तरी क्षेत्रका थप ७ गाविसमा शुक्रबार रातिबाट हिमपात भएको हो । पानी परेपछि लाप्राकको गुप्सीपाखामा हिउँ जमेको छ । त्यहाँका अधिकांश त्रिपालले बनेका अस्थायी टहरो हिउँले पुरिन थालेको स्थानीय माया गुरुङले बताइन । ‘रातिदेखि हिउँ परेर धेरै चिसो बढेको हो’, उनले भनिन् । हिम जमेका कारण स्थानीयबासी शनिवार अबेरसम्म पनि अस्थायी टहरोबाट बाहिर निस्कन सकेका छैनन । ‘खुट्टाको गोलीगाँठोसम्म पुरिने गरि हिउँ परेको छ’, उनले भनिन्, ‘आगो तापेर बसेका छौं ।’ गुप्सीपाखाको अस्थायी शिविरमा लाप्राक गाउँका करिब ६ सय पीडित परिवार बस्दै आएका छन् ।
छानामा परेको हिउँको भार थाम्न नसकेर अस्थायी टहरोहरु भत्कन थालेको सुकराम गुरुङले बताए । ‘त्रिपाल पनि च्यातियो’, उनले भने । असिना–पानी परेपछि बैशाखे भूकम्पको केन्द्रबिन्दु बारपाकमा पनि हिउँ जमेको छ । हिउ र असिना बस्तीसम्मै जमेर बसेको स्थानीयले बताए । बारपाक माथिका बस्तीमा भने शनिबार दिनभरि पनि घाम लागेन । ‘चिसो हावा चलेको छ’, उहियाका विश्वकुमार गुरुङले भने । बारपाक गाउँ सदरमुकामबाट १८ कोसमा टाढा पर्छ भने लाप्राक, केरौंजा, उहिया, गुम्दा २२ कोसमा पर्छन् । १८ कोसदेखि नै हिउँ जमेको हो । ५२ कोस टाढाको सामागाउँलगायत उत्तरी क्षेत्रमा पनि शनिबार बिहानदेखि हिमपात भएको त्यहाँबाट फर्किएका पिपुल इन नीड नामक गैरसरकारी संस्थाका प्रतिनिधि मुकेश सिंहले बताए । स्थानीयबासी चिसोको कारण घरबाट बाहिर निस्कन नसकेको उनले बताए । ‘उत्तरी क्षेत्रमा माइनस १५ डिग्री तापक्रम पुगेको छ’, गाविस सचिव वेदप्रकाश ढकालले भने, ‘राती र विहान बेलुका त माइनस शुन्य डिग्रीमा झरेर पानी पनि जम्छ ।’ चिसोको कारण उत्तरी क्षेत्रका अधिकांश ठाउँको टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।
चिसो बतास अस्थायी टहरोमा पस्न थालेपछि रातभर निद्रा नपर्ने करौंजा–५ रुन्चेतकी मण्डली गुरुङले बताइन । ‘चिसोले छोराछोरी रुन थालेपछि छात्तीमा टाँसेर न्यानो पार्नुपर्छ’, उनले भनिन् ‘दिनरात कटाउनै गाह्रो हुन थालेको छ ।’ भूकम्प, वर्षातको झरी, हिउँदको चिसोले ज्यान थिलोथिलो पारेको उनले बताइन । बस्ती नजिकैको डाँडाकाडामा परेको हिउँ पग्लदै चिसो पानी अस्थायी टहरोमा पसेको उनले गुनासो गरिन । ‘हिउँ पग्लेर आएको पानी छुन पनि नसकिने भएको छ’, उनले भनिन् । पशुचौपायालाई पनि चिसोले असर गरेको स्थानीले बताएका छन् । त्यस क्षेत्रमा हाल हेलिकप्टरले चिसोबाट जोगिन चाहिने राहत सामग्री ढुवानी गरिरहेका छन् ।
ekantipur




















