तिलक पाैडेल
प्रकोप-चक्र भनेको विपद् आउनुअघि, विपद् भइरहेको बेला र विपद्पछि गरिने कामहरू क्रमबद्धता हो । यसको उद्देश्य विपद् रोक्न/क्षति घटाउन, प्रभावकारी उद्धार गर्न र पुनः सामान्य अवस्थामा फर्काउन प्रयास गर्नु हो । हामीकहाँ विपद् व्यवस्थापन सम्बन्धी दस्तावेजहरूले पनि यसलाई पूर्व-विपद् र पश्चात्-विपद्का विभिन्न चरणमा व्याख्या गरेका छन् । प्रकोप चक्रलाई निम्नानुसार चित्रित गर्न सकिन्छ ।
बाढीको प्रकोपलाई आधार मान्दा निम्नानुसार गर्नुलाई प्रकोप-चक्रको रूपमा बुझ्न सकिन्छ ।

त्यसपछि फेरि जोखिम न्यूनीकरण र पूर्वतयारी सुरु हुन्छ । यही नै “ प्रकोप-चक्र” हो । पहिले विपद् व्यवस्थापनलाई मुख्यतः “विपद् आएपछि उद्धार र राहत” का रूपमा हेर्ने अभ्यास थियो । अहिले भने विपद् आउनुअघि जोखिम पहिचान, न्यूनीकरण र पूर्वतयारीमा बढी लगानी गर्नुपर्छ भन्ने आधुनिक दृष्टिकोणले विश्वव्यापी रूप धारण गरेको छ ।
प्रतिकार्य तथा उद्धार र राहत चरण
प्रतिकार्य/उद्धार र राहत चरणलाई व्यवहारमा काम गर्न सजिलो हुने गरी निम्नानुसार व्याख्या गर्न सकिन्छ । यस चरणको मूल उद्देश्य जीवन बचाउने, स्वास्थ्य जोखिम घटाउने, सार्वजनिक सुरक्षा कायम गर्ने र प्रकोप पीडितका आधारभूत आवश्यकता पूरा गर्नु हो ।
१. प्रतिकार्य तथा उद्धार चरण (Response & Rescue)
तत्काल उद्धारको अवस्थालाई देहाय बमोजिम धैर्यतापूर्वक काबुमा राख्नु उपयुक्त मानिन्छ –
क. पहिलो केही घण्टा
1. घटनाको पुष्टि र सूचना सङ्कलन गर्ने ।
2. आपत्कालीन परिचालन केन्द्र/सम्बन्धित निकाय सक्रिय गर्ने ।
3. घटनास्थलको जोखिम मूल्याङ्कन गर्ने (आगलागी हुने, पहिरो जाने, बाढी आउने, भत्किन सक्ने भवन, विद्युत्गृह आदिको आँकलन) ।
4. सुरक्षा घेरा कायम गरी उद्धारकर्तालाई सुरक्षित बनाउने ।
5. खोज तथा उद्धार टोली परिचालन गर्ने ।
6. घाइते, फसेका तथा जोखिममा रहेका व्यक्तिको खोजी र उद्धार गर्ने ।
7. गम्भीर घाइतेलाई प्राथमिक उपचारको व्यवस्था गर्ने ।
8. आवश्यकतानुसार एम्बुलेन्सबाट स्वास्थ्य संस्थाहरूमा पठाउने ।
9. मृतकको पहिचान तथा यथासम्मान दाहसंस्कार/व्यवस्थापन गर्ने ।
10. थप जोखिम भए सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्ने ।
ख. पहिलो २४ घण्टा
१ प्रभावित क्षेत्रको द्रुत प्रारम्भिक क्षति तथा आवश्यकता मूल्याङ्कन गर्ने ।
२ कति मानिस प्रभावित भए, कति घाइते/मृतक भए, कहाँ र कस्तो सहायता चाहिन्छ भन्ने अभिलेख बनाउने ।
३ सुरक्षित स्थानमा अस्थायी आश्रयस्थल सञ्चालन गर्ने ।
४ सुरक्षित खानेपानी, खाना र सरसफाइको व्यवस्था गर्ने ।
५ महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य विशेष जोखिममा रहेका समूहलाई प्राथमिकता दिने ।
६ विद्युत्, ग्यास, सडक, पुल आदिबाट हुनसक्ने दोस्रो जोखिमबाट जोगिने ।
७ परिवारबाट छुट्टिएका व्यक्तिको खोजी तथा परिवारसँग पुनर्मिलनको व्यवस्था गर्ने ।
८ जनतालाई विश्वसनीय र नियमित सूचना दिने तथा अफवाह नियन्त्रण गर्ने ।
प्रभावकारी प्रतिकार्यका लागि विभिन्न तहका सरकारहरू, सुरक्षा निकायहरू, स्थानीय तहहरू, स्वास्थ्य संस्थाहरू, रेडक्रस, गैरसरकारी संस्थाहरू, निजी क्षेत्र र समुदायबीच यथोचित समन्वय हुन अति आवश्यक हुन्छ ।
२. राहत चरण (Relief)
उद्धारपछि “बाँचेकालाई सुरक्षित राख्ने र आधारभूत आवश्यकता पूरा गर्ने” तर्फ मुख्य ध्यान दिनुपर्ने हुन्छ । यसलाई निम्नानुसार बुँदिकृत गर्न सकिन्छ –
क. तत्काल राहत
1. खाद्यान्न तथा पकाएको खाना उपलब्ध गराउने ।
2. सुरक्षित खानेपानी उपलब्ध गराउने ।
3. अस्थायी आवास/टेन्ट/त्रिपाल व्यवस्था गर्ने ।
4. कपडा, कम्बल, म्याट्रेस लगायत गैरखाद्य सामग्री उपलब्ध गराउने ।
5. आवश्यक औषधि तथा स्वास्थ्य सेवा सञ्चालन गर्ने ।
6. विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू र पढ्ने/खेल्ने स्थानको व्यवस्था मिलाउने ।
7. शौचालय, हात धुने तथा फोहोर व्यवस्थापन गर्ने ।
8. बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक तथा बिरामीका लागि विशेष सामग्री उपलब्ध गराउने ।
9. आवश्यकतानुसासर मनोसामाजिक परामर्श उपलब्ध गराउने ।
ख. राहत वितरण व्यवस्थापन
१ प्रभावित परिवारको नामावली तयार गर्ने ।
२ क्षति र आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गर्ने ।
३ राहत सामग्रीको सङ्कलन, भण्डारण र सुरक्षित ढुवानी गर्ने ।
४ वितरणमा दोहोरोपन र अनियमितता रोक्ने ।
५ राहत प्राप्त गर्ने व्यक्तिको अभिलेख राख्ने ।
६ राहत वितरणमा पारदर्शिता र समानता कायम गर्ने ।
७ स्थानीय आवश्यकता अनुसार नगद सहायता आवश्यक छ भने व्यवस्थित रूपमा उपलब्ध गराउने ।
ग. राहतबाट पुनर्लाभतर्फ
1. सडक, खानेपानी, विद्युत्, सञ्चार आदि आवश्यक सेवा पुनः सञ्चालन गर्ने ।
2. विद्यालय, स्वास्थ्य चौकी तथा बजारजस्ता अत्यावश्यक सेवा क्रमशः सञ्चालन गर्ने ।
3. घर फर्कन मिल्ने/नमिल्ने अवस्था प्राविधिक रूपमा जाँच गर्ने ।
4. क्षतिको विस्तृत मूल्याङ्कन गरी पुनर्स्थापना तथा पुनर्निर्माण योजना तयार गर्ने ।
5. उद्धार तथा राहतमा भएका कमजोरीको समीक्षा गरी प्राप्त सिकाइलाई अगाडिका दिनहरूमा उपयोग गर्ने ।
यसरी प्रकोप घटेपछि त्यसको सूचना → सुरक्षा → उद्धार → प्राथमिक उपचार → निकासी → क्षति/आवश्यकता मूल्याङ्कन → आश्रय → खाना/पानी → स्वास्थ्य/सरसफाइ → विशेष समूहको संरक्षण → सूचना/समन्वय → राहत वितरण → अत्यावश्यक सेवा पुनः सञ्चालन → पुनर्स्थापनाको कार्यले प्रतिकार्य/उद्धार र राहत हुँदै पुनर्स्थापनाका चरणहरू पूरा गर्नु पर्दछ ।
स्थानीय तहको जिम्मेवारी
“पहिले जीवन बचाउने, त्यसपछि सुरक्षित राख्ने, त्यसपछि आधारभूत आवश्यकता पूरा गर्ने र अन्ततः सामान्य जीवनतर्फ फर्काउने” क्रमलाई स्थानीय विपद् प्रतिकार्य तथा राहत कार्यका रूपमा प्रकोप पीडित स्थानीय तहहरूले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । वर्तमानमा विपद् व्यवस्थापनमा राहतलाई मात्र अन्तिम लक्ष्य नबनाई राहत-पुनर्लाभ-पुनर्निर्माणलाई जोखिम न्यूनीकरणसँग जोड्ने दृष्टिकोण अपनाइन्छ ।
राहत वितरणलाई स्थानीय तहदेखि पीडित परिवारसम्म प्रभावकारी हिसाबले पुर्याउनु आफैँमा चुनौतीपूर्ण कार्य हो । हामीकहाँ राहत व्यवस्थापनमा स्थानीय तहले लाभग्राही पहिचान/प्राथमिकता निर्धारण गर्ने र राहत सामग्रीको भण्डारण तथा वितरण व्यवस्थित गर्ने अभ्यास प्रचलनमा देखिन्छ । यसलाई निम्नानुसार गर्दा प्रभावकारी हुन सक्छ ।

राहत वितरणलाई “एकद्वार प्रणाली” मा आधारित बनाउन सकेमा राहत प्राप्तिमा कोही छुट्ने र कोही दोहोरिने समस्या नआउन पर्दछ, जसका लागि निष्पक्षता र पारदर्शिता अनिवार्य हुन्छ –

विभिन्न तहका सरकार, स्वदेशी/विदेशी दाता संघसंस्थाहरू, निजी क्षेत्रहरूबाट प्राप्त राहत सामग्रीहरूलाई स्थानीय विपद् व्यवस्थापन समितसम्म सुचारू हिसाबले पुर्याउने कार्य केन्द्रीय दैवी प्रकोप व्यवस्थापन समितिले वा सोसँगको समन्वयमा इच्छुक दाताहरूले गर्ने, स्थानीय समितिले प्राप्त सामग्रीहरूको उचित भण्डारणको व्यवस्था मिलाउनु पर्दछ । यसलाई विषयक्षेत्रगत हिसाबले (खाद्य, आवाशीय, स्वास्थ्य, शिक्षा आदि) अभिलेखीकरण गर्दै भण्डारण गर्नु राम्रो हुन्छ । त्यसपछि वितरणलाई प्रभावकारी बनाउन वितरण समन्वय केन्द्र बनाई प्रकोप प्रभावित वडाहरूलाई समानुपातिक हिसाबले वितरण गर्न आवश्यकतानुसारका स्वयंसेवी संस्थाहरूको सहयोग लिन सहजीकरण गर्नु उपयुक्त हुन्छ । राहत वितरक संस्थाहरूले प्रभावित परिवारहरूलाई बाँडेको अभिलेखलाई विषयक्षेत्रगत हिसाबले राख्दा स्थानीय आवश्यकतालाई केन्द्र वा दाता निकायसँग पुर्याउन सहज हुने देखिन्छ । यसो गर्न सके परम्परागत हिसाबले ‘हतपतको काम लतपत’ भन्ने भनाइमा सुधार भई काबुबाहिरको प्रकोपबाट प्रभावित क्षेत्र/व्यक्तिहरूलाई यथासमयमा समुचित ढङ्गले राहत दिलाउन सकिनेछ । सरोकारी सबैले मनन गरौँ ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०८३ भाद्र २८ गते शनिवार
कीर्तिपुर-२, मध्यनगर, काठमाडौँ ।




