गाेरखा । नेपालमा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ । जसका कारण देशका विभिन्न स्थानमा मौसमको फरक फरक रूप देखिकाे छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा अहिले साधारणतया बादल लागेको छ । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र पनि बादलले ढाकिएकाे छ ।
मधेस प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बादल लागेको छ भने तराईमा मौसम मुख्यतया सफा रहेको छ ।
हाल कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ भने बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ ।
सोमबारको मौसम कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने देखिन्छ । मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बदली हुने र तराईमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मौसम खराब हुन सक्छ । त्यस्तै मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
यस विपरीत पश्चिम नेपालका केही स्थानहरुमा गर्मीले जनजीवन प्रभावित बनाउने देखिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भागमा गर्मी बढ्ने तथा तराईमा अत्यधिक गर्मीका साथ तातो लहर ‘लू’ चल्ने सम्भावना रहेकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।



