गाेरखा । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण हाल देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने तराईमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो ।
आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । साथै मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र बाँकी तराईमा मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागको थोरै स्थानहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका साथै बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानहरूमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराईमा गर्मी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ भने मधेसलगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र बाँकी तराईमा मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, मधेस प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



