गाेरखा । बुधबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा अत्यधिक गर्मी हुने अनुमान गरीएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो यी क्षेत्रमा तापक्रम निकै बढ्ने सम्भावना रहेकाे छ । पश्चिमी तराईका अधिकांश सहरमा दिउँसो कडा घाम लाग्ने र ‘तातो दिन’ महसुस हुनेछ ।
आज सबैभन्दा बढी गर्मी धनगढीमा हुने पूर्वानुमान छ । त्यहाँको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
यसैगरी नेपालगञ्जको तापक्रम ३८ देखि ४० डिग्री, दिपायलको ३७ देखि ३९ डिग्री तथा भैरहवा र वीरेन्द्रनगरको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरीएकाे छ । यी सहरहरूमा वर्षाको कुनै सम्भावना नरहेकाले दिउँसोको समयमा अत्यधिक गर्मी हुनेछ ।
पश्चिमी तराईमा गर्मी बढिरहँदा देशका पहाडी तथा पूर्वी भागहरुमा भने मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । काठमाडौँसहित पोखरा, सिमरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ ।
विशेषगरी ओखलढुङ्गा, धनकुटा र ताप्लेजुङमा दिउँसो ४० प्रतिशतसम्म मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौँको अधिकतम तापक्रम आज २७ देखि २९ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरीएकाे छ ।
आज रातिको मौसम हेर्दा सुदूरपश्चिमका डडेल्धुरा, दिपायल, धनगढी लगायतका सहरहरूमा आकाश मुख्यतया सफा रहनेछ। तर मध्य र पूर्वी भेगका धेरै स्थानमा राति पनि मौसम खुल्ने छैन ।
पोखरा, सिमरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जनकपुर र ताप्लेजुङमा राति पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ । पहाडी तथा हिमाली जिल्लाहरू जोमसोम र जुम्लामा भने आज दिउँसो र राति पनि मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान महाशाखाले गरेकाे छ ।



