गोरखा । अन्तत् डा.बावुराम भट्टराईले गोरखाबाट उम्मेदवारी दिने निश्चित भएको छ । उनले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने कुराको घोषणा गरेका हुन् ।
गोरखा आएका उनले सञ्चारकर्मीहरु संग सोमबार बिहान कुरा गर्दै नेपालको भू–राजनैतिक सन्तुलन मिलाउन पनि आफुले उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।
‘प्रतिनिधी सभा जो राज्यको जनप्रतिनिधीको उच्च थलो हो’, उनले भने ‘त्यहाँ रहेर नै देशको राष्ट्रिय स्वाधिनता, सर्वभौम सत्ता जस्ता बिषयमा नीति निर्माण गर्ने र भू–राजनैतिक सन्तुलन मिलाएर देशलाई स्वाधिनताको रक्षा गर्ने दिशा तर्फ लैजान भूमिका खेल्नुपर्ने छ ।’
सञ्चारकर्मीहरु संग कुरा गर्दै डा.भट्टराईले नेपालमा विदेशी शक्तीहरुको सामरीक स्वार्थ बाँझिरहेको बताए । ‘शक्ती केन्द्रका स्वार्थहरु अझै मडारीन सक्ने र त्यसले हाम्रो देशको राष्ट्रिय स्वाधिनता, सर्वभौम सत्तालाई असर गर्न सक्छ’ उनले भने ‘हाम्रो देशले ठिक ढंगले ब्यालेन्स गर्न नसक्दा प्रतिकुल असर पार्ने खतरा कायमै रहेको स्थितीमा मैले आफुलाइ सक्रिय गराएको हुँ ।’
लामो रस्साकस्सी पछी आइतबार साँझमात्र उनले गोरखाबाट उम्मेदवारी दिने निर्णयमा पुगेका थिए । यस अघि उनले सार्वजनिक रुपमा नै आफुले उम्मेदवारी नदिने घोषणा गरेका थिए ।
हिजो साँझ कार्यकता र सुभचिन्तक बिच रहेका भट्टराईले ईन्कार गर्न नसकेपछी उनले उम्मेदवारी दिने निर्णयमा पुगेको प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला इन्चार्ज यानप्रसाद भट्टले बताए ।



