गोरखा । गोरखामा यो बर्ष डेंगुभन्दा स्क्रब टाईफसका संक्रमित देधै देखिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार डेंगु र स्क्रब टाईफसबाट साउन यता २१४ जनामा संक्रमण देखिएकोमा १५० जना स्क्रब टाईफसका संक्रमित फेला परेको हो ।
११ स्थानिय तह रहेको गोरखामा ६ स्थानिय तहमा दुवै संक्रमित देखिएको कार्यालयका ल्याब टेक्निसियन निरिक्षक नारायणबावु अर्यालले जानकारी दिए । उनका अनुसार साउन यता ६४ जनामा डेंगुको संक्रमण देखिएको छ ।
संक्रमण देखिएको मध्य सबैभन्दा बढी गोरखा नगरपालिकामा रहेको छ । गोरखा नगरपालिकामा स्क्रब टाईफसका ५९ जना संक्रमित फेला परेको छ भने डेंगुका १५ जना संक्रमित फेला परेको छ ।
उता आरुघाट गाउँपालिका १५–१५ जना डेंगु र स्क्रब टाईफसका बिरामी फेला परेको छ भने भिमसेन थापा गाउँपालिकामा १६ जना डेंगु र ४२ जना स्क्रब टाईफसका संक्रमित फेला परेको पनि निरिक्षक अर्यालले जानकारी दिए ।
कार्यालयका तथ्यांक अनुसार पालुङटार नगरपालिकामा ८ जना डेंगु र ३० जना स्क्रब टाईफस संक्रमित देखिएका छन् भने शहिद लखन गाउँपालिकामा ७ जना डेंगु र ३ जना स्क्रब टाईफस तथा अजिरकोट गाउँपालिकामा ३ जना डेंगु र १ जना स्क्रब टाईफसका संक्रमित फेला परेको कार्यालयले जनाएको छ ।
डेंगु एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ भने स्क्रब टाइफस माइट जातको किर्नाको टोकाईबाट सर्ने गर्दछ ।
यो संक्रमण कार्तिकको अन्तिमसम्मै रहने भएकोले सर्तकता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।


