फाईल तस्बिर
गोरखा । जिल्लाको २ वटा स्थानिय तहमा चाडबाड लक्षित बजार अनुगमनमा अखाद्य बस्तु बिक्री गरेको फेला परेपछी कारवाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा भएको बजार अनुगमनका क्रममा ४ वटा पसललाई कारवाही गरिएको हो ।
कारवाहीमा परेका पसलमध्ये १ पाउरोटी उद्योग, १ पालिकाको क्यान्टिन र अन्य २ खाद्यान्न पसल भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । कारवाहीमा परेकाहरुले अखाद्य बस्तु र मिति गुज्रिएका सामाग्री बिक्री गरेको फेला परेको उनले बताए ।
‘हामीले बिहीबार र शुक्रबार २ दिन पसल अनुगमन गरेका थियौ’ उनले भने ‘अनुगमन क्रममा मिति गुज्रिएका र अखाद्य बस्तु बिक्री गरेको फेला परेकाले कारवाही गरेका हौ ।’
बरालको नेतृत्वमा भएको अनुगमनमा स्थानिय तहका सरोकारवाला कर्मचारीहरु समेतलाई सहभागी गराईएको थियो ।
अनुगमनका क्रममा पाउरोटी उद्योगलाई नगद १० हजार अन्य ३ वटा ब्यवसायीलाई जनही ५ हजारका दरले नगद जरिवाना गरेर तत्कालै सुधार गर्ने गरी स्थानिय तहलाई जिम्मा लगाएको पनि उनले जानकारी दिए ।
केही पसलमा बच्चाले प्रयोग गर्ने ल्याक्टोजिन ठूलो मात्रामा मिति गुज्रिएको फेला परेको थियो । बरामद सबै सामाग्री नष्ट गर्ने गरी स्थानिय तहलाई जिम्मा लगाइएको छ ।
पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिका गरिएको अनुमनमा पालिका भित्रै संञ्चालित क्यान्टिन समेत कारवाहीको दायरामा ल्याएको उनले बताए । ‘पालिकाले सञ्चालन गरेको क्यान्टिनलाई समेत कारवाही गर्यौ’ उनले भने ‘पालिकाले ध्यान नदिदा त्यहाँ प्रयोग हुने ध्यू नै केमिकल वाला भएको भेटियो र हामीले तत्कालै बन्द गरेर सुधार गरेर सञ्चालन गर्नेगरी पालिकालाई जिम्मा दियौ ।’
उनको रोचक अनुभवन अनुसार क्यान्टिमा प्रयोग हुने ध्यूमा बिक्री मूल्य ३५० लाई मेटेर २८० लेखिएको र बिक्री गर्दा जम्मा ९० रुपैयाँ बिक्री भएको पाईए लगत्तै जाँचबुझ गर्दा केमिकल वाला ध्यू भएको पुष्टी भएपछी पालुङटार नगरपालिकाको क्यान्टिनलाई कारवाही गरिएको थियो ।
‘बजारमा असाध्यै अखाद्य र मिति गुज्रिएका सामाग्रीहरु फेला परे’ उनले भने ‘यो अवस्थालाई न्यूनिकरण गर्न अब दशैं लगत्तै हामी अभियानकै रुपमा बजार अनुगमन गर्ने छौ ।’
अहिलेको बजार अनुगमन भने चाडबाड लक्षित मात्र भएकोले गुनासा आएको खण्डमा बिदाका दिनमा पनि हामी अनुगन गर्न तयार रहेको उनले बताए ।



