गोरखा । बारपाक सुलिकोट गाउँपालिले सोमबारदेखि टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता बाड्न सुरु गरेको छ ।
लाभग्राहीहरूलाई सहज र व्यवस्थित ढंगले सेवा उपलब्ध गराउन बैंकमार्फत वडा तथा टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।
गाउँपालिकाले वडा अनुसारको भत्ता वितरणका लागि समय तालिका तोकेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२-०८३ को प्रथम त्रैमासिककाे भत्ता आज असोज ६ गते वडा नम्बर ६ को मसार गाउँ र ५ नम्बरको वडा कार्यालयबाट बाड्न गर्न सुरु गरेको हाे ।
त्यस्तै असोज ७ गते १२ किलो चोक, सिम्वु र रन्चोक, असोज ८ गते ढोडेनी बजार र वडा कार्यालय सौरपानीबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
गाउँपालिकाले असोज ९ गते हुडीफाट र उलाजुङ आधारभूत विद्यालय, असोज १० गते स्तुल आधारभूत विद्यालय र वडा नम्बर ३ को कार्यालय, र असोज ११ गते वडा नम्बर ७ को कार्यालयबाट भत्ता बाड्ने कार्यक्रम रहेको जनाएको छ ।
वडा नम्बर ३, ४, ५, ६ र ७ का बैंक खाता खोलेका लाभग्राहीहरूको भने बैंक खातामा रकम जम्मा भइसकेको गाउँपालिकाले जनाएको छ ।
लक्षित वर्गलाई दशै मनाउन सहज होस भन्ने उद्देस्यसहित दशै अगावै सामाजिक सुरक्षा भत्ता बाड्न लागेकाे गाउँपालिका अध्यक्ष भट्टले बताए ।



