प्रतिकात्मक तस्बिर
गोरखा । आरुघाट गाउँपालिकाले बजार क्षेत्रलाई सफा र स्वच्छ राख्ने उद्धेश्यका साथ फाेहर संकलनकाे काम थालेकाे छ । पालिकाले आरुघाट बजार, आरुटार र आर्खेत क्षेत्रबाट फोहर संकलन सेवा सुरु गरेको हाे ।
गाउँपालिकाले आरुघाट युवा क्लबसँगको सम्झौता गरेर बजार क्षेत्रबाट फाेहर संकलनकाे काम थालेकाे प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै फोहोर सकंलनमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।
पालिकाको बजार क्षेत्रमा रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, टोल विकास संस्था, व्यवसायी, होटल तथा पसल सञ्चालक, घरधनी र स्थानीय बासिन्दालाई सरसफाइ अभियानमा सक्रिय सहयोग गर्न अनुरोध गरेकाे छ ।
त्यस्तै गाउँपालिकाले तोकेको फोहोर संकलनको शुल्क समयमै भुक्तानी गरी ‘सरसफाई कार्ड’ अनिवार्य रूपमा लिन पनि आग्रह गरेको छ ।
“आरुघाट बजारलाई स्वस्थ, सफा र सुन्दर बनाउने जिम्मेवारी सबैको हो । फोहर संकलन र व्यवस्थापनमा गाउँपालिका र आरुघाट युवा क्लबलाई आवश्यक सहयोग पुर्याउनु सबैको दायित्व हो ” गाउँपालिकाद्धारा जारी गरिएको सूचनामा भनिएको छ ।
बजार क्षेत्रको वातावरण सुधार र सरसफाई कायमका लागि गाउँपालिकाले यस्तो निर्णय गरेकोहो । गाउँपालिकाले फोहर संकलनको नियमितता कायम गर्न स्थानीयवासीको प्रत्यक्ष सहभागिता अनिवार्य रहेको भन्दै प्रत्येक घरधुरीलाई निर्धारित स्थान र समयमा फोहर राखिदिन आग्रह समेत गरेको छ ।




















