रौतहट । नेपाल प्रहरीले रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेर गंभिर भएको अवस्थामा फेला पारेकाे छ ।
पासवान आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राजु कार्कीले जानकारी दिए । उनका अनुसार माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा भर्ना गरेको छ। उनको टाउकोसहित शरीरको अधिकांश भाग जलेको र गंभिर अवस्था रहेकाे छ ।
गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक डोरीले बाँधिएको अवस्थामा २६ वर्षीय रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो।
अनुसन्धानबाट खुलेको प्रारम्भिक विवरण अनुसार, पासवानले गौरस्थित भाडाको घरमा रुबीको हत्या गरी शव सुटकेसमा हालेर इ–रिक्सामा सार्ने प्रयास गरेका थिए ।



