गोरखा । पालुङटार नगरपालिकाको विभिन्न क्षेत्रमा धानमा लाग्ने ब्लाष्ट रोग देखिएको छ । नगरपालिकाको वडा नम्बर ४, ६ र ८ मा गरी ४१० रोपनी क्षेत्रमा ब्लाष्ट रोग देखिएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको हो ।
कृषि ज्ञान केन्द्र गोरखाका बालि संरक्षण अधिकृत अब्बा दत्त विष्टका अनुसार सबैभन्दा धेरै वडा नम्बर ८ को एक हजार फाँटको द्वारटारमा देखिएको छ । जहाँ २५ जनाभन्दा बढी किसानको ४०० रोपनी क्षेत्रफलमा लगाएको धानबालीमा ब्लाष्ट रोग देखिएको छ ।
ब्लाष्ट रोग धानबालीमा लाग्ने एक प्रकारको ढुसी किरा हो । यो रोग लागेको थाहा पाउने बित्तिकै ढुसीनासक औषधी प्रयोग गर्न सकेको खण्डमा रोग नियन्त्रणमा लिन सकेने अधिकृत विष्टले बताए ।
किसानहरुले लगाएको गोरखानाथ, सावित्री र मन्सुली धानमा ब्लाष्ट रोग देखिएको भएता पनि सोही फाँटमा लगाएको राम धानमा भने कुनै असर नदेखिएको उनले जानकारी दिए ।
पालुङटार नगरपालिकाकै वडा नम्बर ४ र ६ मा पनि केही किसानको खेतमा लगाएको धानबालीमा उक्त रोग देखिएको छ । ४ र ६ मा भने करिब ११ रोपनी क्षेत्रफलमा मात्र ब्लाष्ट रोग देखिएको उनले जानकारी दिए ।
किसानले ढिला गरी जानकारी दिएकाले रोग लागेको क्षेत्रमा पुग्दा केही खेतका धानहरु सुकेको अधिकृत विष्टले बताए । ‘किसानले हामीलाई ढिला गरी जानकारी गराए’ उनले भने ‘हामी धान खेतमा पुग्दा केही किसानको धान खेतमा सुकेको अवस्थामा देखियो ।’
ब्लाष्ट रोग सुरुमा नै पहिचान गर्न सके उपचार गर्न सकिने तर ढिला भएमा रोगको निदान गर्न मुस्किल हुने गर्दछ ।
रोग लागेको क्षेत्रमा सबै किसानलाई ढुसीनाक औषधी दिएर स्प्रे समेत गरि सकेकोले उपचार लागेमा ५० प्रतिशतसम्म धानबाली जोगाउन सकिने उनले जानकारी दिए ।
ब्लाष्ट रोग लाग्नुको मुख्य कारण भने किसानले स्रोत पहिचान नगरी धानको बिउ खरिद गर्नु मुख्य कारण भएको बालि संरक्षण अधिकृत विष्टले बताए । ‘धानको बिउ खरिद गर्दा किसानले पहेलो ट्याग लगाएको हुनुपर्छ’ उनले भने ‘होइन भनेपनि उन्नत जातको बिउ खरिद गरेर ब्याड राखेमा पनि ब्लाष्ट रोग लाग्दैन ।’
धानको जातले पनि ब्लाष्ट रोग लाग्ने वा नलाग्ने हुने उनले जानकारी दिए । पालुङटार धानकाे पकेट क्षेत्र समेत हाे ।
तस्बिर : कृषि ज्ञान केन्द्र गाेरखा





