गोरखा । सरकारी कार्यालयले गोरखा सदरमुकाममा गरेको एक सार्वजनिकरण कार्यक्रममा सहभागीहरुले गुनासै गुनासो गरेका छन् ।
राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ कार्यालयले गरेको कार्यक्रममा सहभागी किसानहरुले अधिकांश कार्यक्रमको लाभ किसानले नपाएर झोला बोक्नेहरुले पाएको गुनासो गरेका हुन् ।
किसानकोलागि आएको अनुदानको कार्यक्रमबाट अनुदान पाउन झन्झटिलो हुनुका साथै सामाग्री समेत कमसल खालको भएको गोरखा नगरपालिका–९ टक्सारकी कल्पना काप्रीले आरोप लगाईन ।
उनले आफुले नियमले पाउने १० हजार लिन पनि भेटेरिनरी अस्पतालमा ३ पटक धाउदा पनि नपाएको कार्यक्रममा बताईन् ।
कार्यक्रममा सहभागि सिरानचोकका एक किसानले भेटेरिनरीबाट पशुहरुकोलागि बितरण गरेका औषधी गुणस्तर हिन, मिती गुज्रन लागेको र प्रभावकारी नभएको बताए । उनले काम गर्ने किसानलेभन्दा पनि झोला बोकेर हिड्ने नक्कली किसानले अनुदान पाउने गरेको गुनासो गरे ।
पालुङटारका अर्का किसानले कार्यालयले मुखका भरमा प्रोत्साहित हुने गरेर काम लगाउने र अन्तिममा अनुदान गैर किसानले हातपार्ने भन्दै किसानको सुविधाभन्दा पनि कर्मचारीलाई फाइदा हुने गरी कार्यक्रम कार्यान्वयन हुने गरेको आरोप लगाए ।
उनले सरकारी अनुदान समूह वा सहकारीभन्दा पनि काम गर्ने किसान लक्षित गरेर पारर्दशी हिसाबले बितरण हुनुपर्ने बताए ।
राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख पूर्ण ढुङानाको अध्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगर, विशिष्ठ अतिथिहरु समन्वयका उप–प्रमुख लिला परियार, गोरखा नगरपालिकाका प्रमुख कृण्ण बहादुर थापा मगर, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, सिरानचोक गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र गुरुङ, शहिद लखन गाउँपालिकाका प्रमुख रमेश थापा मगर र भिमसेन थापा गाउँपालिकाका कार्यबाहक अध्यक्ष अम्रिता देवी वस्ती भट्ट समेतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख ढुङाना, कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश वस्ताकोटी र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ कार्यालयका वरिष्ठ पशु चिकित्सक डा.अनन्त कोइरालले आर्थिक बर्ष ०८२–०८३ को कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।



