काठमाडाैं । गएराति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको छ । काठमाडाैं उपत्यकासहित देशका अरू ठाउँमा हल्का पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो ६ घण्टामा बाजुरा, बझाङ र दार्चुलामा सबैभन्दा धेरै पानी परेको छ । महाशाखाका अनुसार अहिले मनसुन केही कमजोर रहे पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको छ ।
आज दिउँसो लुम्बिनी प्रदेशको तराई लगायत कोशी र बागमती प्रदेशको पहाडी भू–भागको केही स्थानमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


