साँकेतिक तस्बिर
काठमाडाैं । कुवेतमा विषाक्त रक्सी पिएर बिरामी परेका मध्य थप २ जना नेपालीको ज्यान गएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार विषाक्त रक्सी पिएर बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये अहिलेसम्म ११ जनाको ज्यान गएको पुष्टि भएको हाे ।
अस्पतालमा भर्ना भएकामध्ये १५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने बाँकीको अवस्था सामान्य रहेको दूतावासका श्रमसहचारी गिरिप्रसाद आचार्यले जानकारी दिए । कुवेतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म नेपालीसहित २३ जना विदेशी श्रमिकको ज्यान गएको जनाएको छ ।
मिथानोलयुक्त रक्सी खाएका कारण १६० जना श्रमिक बिरामी परेका थिए । प्रारम्भिक अनुसन्धानकाक्रममा रक्सीमा मेथानोल नामको रसायन पाइएको छ ।
दूतावासले ज्यान गुमाएका नेपाली श्रमिकको शव नेपाल पठाउने विषयमा नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको समन्वय थालिसकेको जनाएको छ ।
शव पठाउन केही दिन लाग्नेछ । कुवेतमा रोजगारीका लागि पुगेका झन्डै १ लाख ६० हजार नेपाली छन् । कुवेतमा रहेको नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ प्रयाेग नगर्न आग्रह गरेको छ ।


