काठमाडौं । नेपाल पर्यटनको क्षेत्रमा एउटा नयाँ युगको सुरुवात भएको छ । गुगल म्याप्सले शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को अवसर पारेर नेपालमा स्ट्रिट भ्यू सेवा सुरु गरिएको घोषणा गरेको हो ।
यससँगै अब विश्वका जुनसुकै कुनामा बस्ने मानिसले नेपालका सुन्दर दृश्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई आफ्नो मोबाइल वा कम्प्युटरमार्फत नजिकबाट अनुभव गर्न सक्ने भएका छन् ।
यस सेवाले प्रयोगकर्तालाई नेपालकाे ऐतिहासिक स्थान, सडक, गल्ली र चहलपहलयुक्त बजारमा भर्चुअल रूपमा हिँड्ने, तराईको हरियाली र शान्त भू–दृश्य अवलोकन गर्ने, साथै हिमालहरूको मनोरम दृश्यले भरिएका घुमाउरा सडकमा डिजिटल यात्रा गर्ने अनौठो अवसर दिनेछ ।
स्ट्रिट भ्यूको माध्यमबाट नेपालको वास्तुकला, प्राचीन दरबार र मन्दिर, पुराना बस्ती, बजारको संस्कृति र जीवनशैलीलाई विश्वसमक्ष अझ नजिक ल्याउन सकिने भएको छ ।
गुगलले नेपालमा यस सेवाको सुरुवातसँगै यहाँको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ । अब नेपाललाई प्रत्यक्ष अनुभूत गर्न नसक्ने मानिसले पनि स्क्रिनमार्फत नेपालमा हिँडिरहेको जस्तो अनुभव गर्न सक्नेछन् ।
नवीनतम दृश्यहरू हेर्नका लागि प्रयोगकर्ताले गुगल म्याप्स खोली ३६० डिग्री भ्यु वा पहेँलो स्ट्रिट भ्यू पेगम्यानमा क्लिक गरेपछि सहजै भर्चुअल यात्रामा सहभागी हुन सक्छन् ।


