फाईल तस्बिर
काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिनकाेलागि सवारी सञ्चालनमा रोक लगाइएको छ ।
गत असार ७ गतेदेखि साउन ३१ गते रातिसम्म सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा पुन: भदौ १ गतेदेखी १५ गतेसम्म राती १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
कार्यालयले सूचना जारी गर्दै उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ ।
कार्यालयले बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएकाे सूचनामा भनिएकाे छ ।
काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको पनि जारी सूचनामा भनिएकाे छ ।
उक्त समयमा चल्ने सवारीलाई काठमाडौंबाट जानेलाई काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ ।


