काठमाडौं । सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोगकर्ताका लागि शुल्क निर्धारण गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिएको हो ।
निर्धारण भएकाे शुल्क अनुसार कार, भ्यानहरूका लागि काठमाडौं आउँदा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरीदा ६० रुपैयाँ तोकिएको छ ।
यसैगरी, मिनिबस, मिनी ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरीदा ८० रुपैयाँ तिर्नपर्ने छ ।
बस र ट्रकको हकमा काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरीदा २०० रुपैयाँ लाग्नेछ र गह्रौँ सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरीदा २५० रुपैयाँ सुरुङ मार्ग उपभोग दस्तुर तोकिएको सञ्चार मन्त्री गुरुङले जानकारी दिए ।
मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय कृत्रिम बौद्धिकता एआई नीति २०८२ स्वीकृत गर्नुकासाथै सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत बाधा अड्काउ फुकाउ आदेशसमेत जारी गरेको सरकारका प्रवक्ता मन्त्री गुरुङले जानकारी दिए ।


