सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ । बस र माइक्रोबस एकापसमा ठोक्किँदा ४ जनाकाे ज्यान गएको हो ।
ज्यान गुमाउनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङकर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको बिराटनगर–१० का ४० वर्षीय अशोक यादव रहेका सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
त्यसैगरी उक्त दुर्घटनामा अन्दाजी ४५-५० वर्षीया १ जना महिलाको पनि ज्यान गएको तर उनको पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक खतिवडाले बताए । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जादै गरेको मे १ ख १७९९ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको प्र२–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एकापसमा ठोक्किएका हुन् ।
माइक्रोबसमा १८ जना सवार थिए । उनीहरुमध्ये २ जनाको ज्यान गएको हो । दुर्घटनामा घाइते भएकाहरुको सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यसैगरी दुर्घटनामा घाइते अन्यको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
बस चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




















