धनगढी । कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । अहिले कारागारमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको जानकारी दिए ।
घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिन समिति समेत गठन गरेको छ ।
कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएका झडपका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको थियो ।
यसअघि गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो । कैदीबन्दीको सरुवाबारे मतऐक्यता हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ ।
१५० जना क्षमताको उक्त कारागारमा हाल ६८० जना कैदी बन्दीहरु रहेका छन् ।


