प्रतिकात्मक तस्बिर
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको आराेपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४१ वर्षीय राम बहादुर थिङ र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने रामेछाप, रामेछाप नगरपालिका-३ घर भएका ३७ वर्षीय चन्द्र बहादुर सुवेदी रहेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएकाे हाे ।
पक्राउ मध्ये राम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २९ लाख रूपैयाँ र चन्द्र बहादुरले हंगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूले उनीहरु बिरुद्ध किटानी जाहेरी दिए लगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीकाे टाेलीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट राम बहादुरलाई मंगलबार र चन्द्र बहादुरलाई बुधबार पक्राउ गरेको थियाे ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएकाे छ ।


