काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले हिजो अबेर साँझ सार्वजनिक गरेको कक्षा १२ को नतिजा गएको वर्षभन्दा सुधार भएको छ ।
हिजो साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार आएको हो । यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी पास भएका छन् ।
गएको वर्ष ५२.९१ प्रतिशत विद्यार्थी पास भएका थिए । यसवर्ष ३ लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा २ लाख ४२ हजार ४६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।
यस्तै, आंशिकतर्फ १ लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएकामा ४१ हजार ८४० विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ विद्यार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।
सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको सङ्ख्या २ लाख ८४ हजार ३०५ रहेको छ । परीक्षामा सहभागी भएकाहरूमध्ये १३ हजार ५०२ जनाले ३.६१ देखि ४ जीपीए, ५५ हजार ८९६ विद्यार्थीले ३.२१ देखि ३ दशमलव ६० जीपीए र ९४ हजार २६८ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् ।
यसैगरी ६९ हजार ८१२ विद्यार्थीले २.४१ देखि २.८० र ८ हजार ९६४ विद्यार्थीले २.०१ देखि २.४० जीपीए ल्याएका छन् ।
ननग्रेड पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । २ विषयमा ‘ननग्रेड’ पाएका वा बढीमा २ विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको बोर्डले जनाएको छ ।


