फाईल तस्बिर
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने भएको छ । स्थायी कमिटी बैठकले चन्द नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हाे ।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार एकताका लागि मिति तय गरेर वार्ता गर्ने निर्णय शुरू हुनेछ । प्रवक्ता सापकाेटाले बैठकमा आन्तरिक पार्टी सङ्गठनात्मक विषयहरूमा पनि छलफल भएको जानकारी दिए ।
यस्तै बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध रहेको र अबदेखि अझ सुदृढ एकताका साथ सबैले गुटबन्दीको अन्त्य गर्ने सामूहिक सङ्कल्प लिएको बताए ।
यसैबीच माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक दशैँपछि बस्ने निर्णय गरेको छ । त्यस्तै पोखरासम्म पुगेर रोकिएको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ गतेदेखि शुरू गरेर ताप्लेजुङसम्म पुग्ने निर्णय भएकाे छ ।




















