एजेन्सी । कुरिल टापु क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि रुसको सुदूर पूर्वी क्षेत्र कामचटकाको ३ भागमा सुनामीको सम्भावना बताइएको छ ।
रुसको कामचटकामा ८.८ म्याग्निच्युडको भूकम्पपछि याे दाेस्राे शक्तिशाली भूकम्प गएकाे हाे । रुसको आपत्कालीन सेवा मन्त्रालयले आइतबार यस सम्बन्धमा चेतावनी जारी गरेको छ ।
मन्त्रालयले टेलिग्राममा जारी गरेको सन्देशमा भनिएको छ- ‘छालहरूको उचाइ कम हुने अपेक्षा गरिएको छ, तर यसको बाबजुद पनि तपाईंहरू तटबाट टाढा रहनुहोला ।’
अधिकारीहरूले मानिसहरूलाई समुद्री किनार र तल्लो तटीय क्षेत्रबाट सुरक्षित स्थानहरूमा सर्न अपिल गरेका छन् । प्रशान्त सुनामी चेतावनी प्रणाली र अमेरिकी भू-गर्भ सर्वेक्षणले पनि भूकम्पको पुष्टि गरेको छ । तर यस भूकम्पबाट कुनै ठुलो सुनामीको खतरा नभएको उनीहरूले बताएका छन् ।
यो भूकम्प जानु केही घण्टा अघि कामचट्का क्षेत्रमा क्राशेनिनिकोभ ज्वालामुखी विस्फोट भएको थियो । रुसको सरकारी समाचार एजेन्सी र वैज्ञानिकहरूले यसको पुष्टि गरेका थिए ।
वैज्ञानिकहरूका अनुसार यो ज्वालामुखी लगभग ४५० वर्षपछि पहिलो पटक विस्फोट भएको हो । यो ज्वालामुखी अन्तिम पटक १५५० मा विस्फोट भएको थियो ।
रुसी वैज्ञानिकहरूले गत हप्ता नै यस क्षेत्रमा शक्तिशाली भूकम्पपछि परकम्प र भूगर्भीय हलचल हुन सक्ने चेतावनी दिएका थिए । यसअघि, कामचटकाको सबैभन्दा सक्रिय ज्वालामुखी क्ल्युचेभस्कोय ज्वालामुखी पनि सोही क्षेत्रमा विस्फोट भएको छ ।
ज्वालामुखी विस्फोट पछि, खरानीको ठुलो बादल आकाशमा ६ किलाे मिटरसम्म फैलिएको थियो । खरानीको बादल प्रशान्त महासागरको दिशामा सरिरहेको र यसको बाटोमा कुनै पनि बस्ती नभएको क्षेत्र भएको रुसको आपत्कालीन मन्त्रालयले भनेको थियो ।
विमानको सुरक्षालाई ध्यानमा राख्दै, अरेन्ज कोड अलर्ट जारी गरिएको छ । यो भनेको हवाई यातायातको लागि खतराको गम्भीर अवस्था हो । कामचटका क्षेत्रमा पछिल्ला केही दिनदेखि भूगर्भीय गतिविधिहरू तीव्र हुँदै गइरहेका छन् ।


