काठमाडाैं । देशका धेरै ठाउँमा गएराति पानी परेको छ । कतै मध्यम तथा केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
डोल्पाको ठूली भेरी नदी त्रिपुराकोट जलमापन केन्द्र, रुकुम पश्चिमको ठूलो भेरी नदी रिम्ना जलमापन केन्द्र तथा जाजरकोटको नलगाढ, रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
यी नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा होचा भागमा सतर्कता अपनाउन आग्रह गरिएको छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको पनि जोखिम रहेकोले आज बिहानसम्म नै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
म्याग्दीको म्याग्दी खोला, मङ्गलाघाट जलमापन केन्द्र, सोलुखुम्बुको सोलुखोला, साल्मे जलमापन केन्द्रको जलसतहले पनि सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा जोखिम छ ।
बझाङको बौलिगाड़ जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । त्यस्तै गएराति उदयपुरको गाइघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरुलगायत सिराहको लहान, सिराहा हाईड्रो वर्षामापन केन्द्रहरु र आसपासका क्षेत्रमा ठूलो वर्षा मापन भएको छ । ती क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना छ ।
त्रियुगा खोला, चहका खोलालगायत अन्य साना खोलामा बहाव बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पर्वतको काली गण्डकी नदी, मोदी बेनी जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । कालीगण्डकीमा जलसतह बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन भनिएको छ ।
त्यस्तै गएराति आएकाे पानीले भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास छ । हनुमन्ते खोला तटीय क्षेत्रमा पनि बिहानसम्म सतर्कता अपनाउन आग्रह छ । त्यस्तै सिन्धुपालचोकको गोब्रे, ढुङ्गे, नुर्पुगाउ वर्षामापन केन्द्रहरुमा मध्यम वर्षा मापन भएको छ ।
अबका ३ दिनसम्म नै मनसुन सक्रिय रहने महाशाखाले जनाएकाे छ। आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।




















