फाईल तस्बिर
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आजदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ बजे बस्ने बैठक १ वर्षपछि बस्न लागेकाे हाे ।
बुधबार बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठकमा छलफल गर्न भनेर ५ वटा एजेन्डा तय गरेको छ ।
यसै बिच पछिल्लो समय पार्टीभित्र चर्किँदै गएको अन्तरविरोध कसरी हल हुन्छ भन्ने विषयमा पनि निकै चासोपूर्वक हेरिएको छ ।
नेकपाका संस्थापक पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो ।
बुधबारको बैठकमा सचिव लीलामणि पोखरेलले पार्टीको आन्तरिक विवाद बाहिर पोखिन पुगेको विषयमा नेतृत्वको ध्यानाकर्षण गराउँदै कसरी अन्तरविरोध हल गर्ने भनेर प्रश्न गरेका थिए ।


