एजेन्सी । रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार ११:२५ बजेरुसको पूर्वी तटीय क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो ।
सुरुमा भूकम्पको तीव्रता ८.० म्याग्निच्युड मापन गरिएको थियो । अन्तर्राष्टिय सञ्चारमाध्यमहरुका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर टाढाकाे दुरीमा भूकम्प आएको हो । स्थानीय सरकारले सुनामीको चेतावनी दिँदै सुरक्षित रहन आग्रह गरेको छ ।
काम्चात्का प्रायद्वीपमा सुनामीको आउन सक्ने भन्दै गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीयलाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन् । रूसको कामचट्काका केही भागहरूमा ३-४ मिटर (१०-१३ फिट) उचाइको सुनामी रेकर्ड गरिएको छ ।
रुसको सुदूर पूर्वमा गएको भूकम्पमा धेरै जना घाइते भएको रुसको सरकारी समाचार एजेन्सी तासले जनाएको छ । रुसको सुदूर पूर्वी तटमा सुनामी आएको जसले यसले करिब २ हजार मानिसहरू बसोबास गर्ने बन्दरगाह शहरलाई डुबानमा पारेको रुसको आपतकालीन मन्त्रालयले जनाएको छ ।
रुसी सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा शहरका भवनहरू समुद्री पानीमा डुबेको देखिन्छन् ।
जापानको मौसम विज्ञान निकायले पूर्वी तटको धेरैजसो भागमा सुनामी चेतावनी जारी गरेको छ । उत्तरी जापानको होक्काइडो शहरमा ३० सेन्टिमिटर (१२ इन्च) अग्ला छालहरू आइपुगेका छन् र अधिकारीहरूले त्यसपछिका छालहरू अझ ठूला हुन सक्ने चेतावनी दिएका छन् । सुनामी चेतावनीपछि जापानको क्षतिग्रस्त फुकुशिमा आणविक प्लान्टका कामदारहरू खाली गरिएको छ ।
ताइवान, फिलिपिन्स, हवाई, अलास्काको अलेउटियन टापुहरू र इन्डोनेसियाका केही भागहरूमा पनि सुनामीको चेतावनी जारी गरिएको थियो भने अमेरिकाको पश्चिमी तटको धेरैजसो भागहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।


