डोल्पा । जिल्लाको ठुलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदिको बीच भागमा फसेका ४ जनाको आज सकुशल उद्वार गरेको छ ।
उद्वार गरिकाहरुमा त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षिय ललित बोहरा, २६ वर्षिय नन्द प्रसाद बोहरा, ३५ वर्षिय लाल कुमार बुढा र ३७ वर्षिय श्यामलाल बोहरा भएकाे सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार आज बिहानै दाउरा लिन गएका उनीहरु नदिमा एक्कासी पानीको बहाव बढेपछि नदिको बीच भागमा फसेका थिए ।
जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज भट्टको कमाण्डमा खटिएकाे विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र नेपाल सेनाका जवानहरुले उनीहरुको सकुशल उद्वार गरेको उनले बताए ।
उद्वार पश्चात उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाईएको छ । उनीहरुको अवस्था भने सामान्य रहेको उनले जानकारी दिएकाे छ ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल


