चितवन । गर्मीमा बिधुतकाे माग बढेको भन्दै नेपाल विद्युत् प्राधिकरणको चितवन चनौली वितरण केन्द्रले आज ६ घण्टा आपूर्ति कटौती गर्ने भएको छ । बिहान, दिउँसो, बेलुका र रातिसम्म बिधुत कटौती हुने चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले बताए ।
पश्चिम चितवन र माडी क्षेत्रमा चनौलीबाट बिधुत आपूर्ति हुँदै आएको छ । अत्यधिक गर्मी र रोपाइँको समयमा आकासे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएकोभन्दै बिधुत आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो ।
उनका अनुसार १३२/३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड ४५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भन्दै आज १ दिनका लागि तालिका सार्वजनिक गरिएको हो ।
उनले १ हप्ताभित्र बिधुत लोड व्यवस्थापनमा आएको समस्या समाधान गरिने बताए । वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा बिधुत आपूर्ति अवरुद्ध हुनेछ ।
तालिकाअनुसार नारायणी–माडी फिडरहरूमा अहिले बिहान ६ बजेदेखि ९ र दिउँसो ३ बजेदेखि ६ बजेसम्म, मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । यस्तै जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ९ बजेदेखि १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ ।




