एजेन्सी । थाइल्यान्ड र कम्बोडियाबिच जारी द्वन्द्व निरन्तर बढ्दै गइरहेको छ । शुक्रबार पनि २ देशबिचको सीमामा गोलीबारी भएको दुवै देशका अधिकारीहरूले बताए । द्वन्द्वमा अहिलेसम्म १४ जनाको ज्यान गइसकेको छ ।
अरू धेरै घाइते भएको बताइएको छ । अहिलेसम्म १ लाखभन्दा धेरै मानिस विस्थापित भएको खबर आइरहेको छ । दुवै तर्फबाट आक्रमणका लागि गोलीबारी, क्षेप्यास्त्रको प्रयोग भइरहेको छ ।
शुक्रबार दुवै देशका सेनाले सीमामा थप सैनिक पठाएका छन् । बिहीबार कम्बोडियाले थाइल्यान्डको सिमानामा अवस्थित गाउँहरूमा आक्रमण गरेको थियो ।
प्रतिक्रियामा थाई सेनाले एफ–१६ लडाकु विमानहरूबाट कम्बोडियाली सैन्य अड्डाहरूमा आक्रमण गर्यो । आक्रमणपछि हिंसा प्रभावित क्षेत्रहरूबाट आम मानिसहरू बसाइँ सर्न थालेका छन् । महिनौंदेखि २ देशको सीमामा ८०० किमी विवादित खन्डको विषयमा थाइल्यान्ड र कम्बोडियाबिच बहस चलिरहेको थियो ।


