दोलखा । दोलखाको विगु गाउँपालिका–१ हुरहुरेमा पहिरोमा परी १ जना सव–इन्जिनियरको ज्यान गएको छ । साेही पहिरोमा परेर अन्य २ जना सव–इन्जिनियर गम्भीर घाइते भएकाे दाेलखा प्रहरीले जनाएकाे छ ।
बुधबार दिउँसो सानिमा हाईड्रो जाने सडक सर्भे गर्ने क्रममा माथिबाट झरेको पहिरोमा परेर नुवाकोट विदुर नगरपालिका–४ का २९ वर्षीय सुनिल न्यौपानेको ज्यान गएको दाेलखा प्रहरीले पुष्टी गरेकाे हाे ।
पहिरोमा परी गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
साेही पहिराेमा परेर घाइते रामेछाप लिखु तामाकोसी गाउँपालिका–४ का विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का सन्दिप चौलागाईं गम्भीर घाइते भएका छन् ।
पहिरोबाट उद्धार गरिएका उनीहरूलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ । चीनसँग सीमा जोडिएको लप्ची नजिकै सानिमाले जलविद्युत् निर्माण गरिरहेको छ । उनीहरू तीनै जना सानिमा हाईड्रोको कर्मचारी रहेको प्रहरीले जनाएको छ ।


