काठमाडौं । घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् ।
मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनले फेसबुक स्टाटसमा नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएकाे उल्लेख गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । त्यसपछि मन्त्री गुप्ताले राजीनामा दिएका हुन् ।
केही दिनअघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो । विपक्षी दलहरुले राजीनामा माग गर्नुका साथै कारबाही गर्न माग गरेका छन् ।
गुप्ता २०८१ असार ३१ गते मन्त्री नियुक्त भएका थिए । उनले मन्त्री भएको ठीक १ वर्ष पुगेकै दिन राजीनामा दिएका हुन् । उनी नेकपा एमालेबाट पर्सा-३ बाट प्रतिनिसभामा निर्वाचित भएका थिए ।



