म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी सहज रुपमा बग्न थालेको छ ।
धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भीरबाट खसेको पहिरो थुप्रिँदा नदीको नियमित प्रवाह रोकिएर तलाउ बनेको थियो ।
ठू-ठूला ढुङ्गासहित पहिरोले बनाएको बाँध नाघेर नदी बग्न र तलाउमा पानीको सतह घट्न थालेको हाे । हिजो दिउँसो साढे १२ बजेदेखि पहिरोका कारण तल्लो क्षेत्रमा पानीको सतह घटेको थियो ।
नदी थुनिएर करिब ३०० मिटर लामो र ३० मिटर गहिरो तलाउ बनेको थियो ।


