मुस्ताङ । उपल्लो मुस्ताङमा लेदोसहितको बाढीले ४ वटा पुल बगाएकाे छ भने अन्य २ वटा पुलमा क्षति पुर्याएकाे छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिजो बेलुकाको बाढीले ४ वटा पुल बगाएको हाे भने २ वटामा क्षति गरेको छ ।
नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका–४ छोसेरको चुम्जुङ खोलामा झन्डै ३ घण्टा बाढी आएको थियो ।
बाढीले लोमान्थाङ–४ चुम्जुङ खोलामा १ पुल र लोमान्थाङ–२ साम्जुङको निर्माणाधीन अर्को १ गरी २ वटा पक्की मोटरेबल पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
त्यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र ३ वटा काठेपुल बगाएर क्षति पुर्याएको छ । उपल्लो मुस्ताङको बाढीका कारण खोलाको बीचमा सञ्चालनमा रहेको १ होटल र लोमन्थाङ–४ अन्दाजी ४०० मिटर दूरीमा रहेको न्याम्डो गाउँका २ वटा घरका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।
आज त्यस क्षेत्रमा बाढीको बहाव कम भइसकेको तर सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ




















