काठमाडाैं । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका ३ बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ ।
आजदेखि अस्पतालमा सेवा नियमित भएको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति आपत्ति जनाउँदै सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर आन्दोलन गर्दै आएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सङ्घका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच वार्ता भएको थियो ।
मागहरूको सम्बोधन गर्न विद्यमान कानूनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायत विषयमा ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गर्ने सहमति भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख संयोजक, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवस्तरको एक सदस्य र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सदस्य प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने भनिएको छ ।


