गाेरखा । गएराति रसुवामा एक्कासि आएको बाढीमा फसेका मध्य अहिलेसम्म ५० जनाकाे सकुशल उद्धार गरिएकाे छ ।
ठूलो जनधनको क्षति पुर्याउने गरी आएको बाढीमा फसेका मध्य अहिलेसम्म ५० जनाकाे सकुशल उद्धार गरिएकाे सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सकुशल उद्धार गरिएका ५० जना मध्य रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइटमा फसेका १८ जना (जसमा १ जना चिनियाँ पुरुष, १५ जना नेपाली पुरुष र २ जना नेपाली महिला रहेका थिए) नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीले झोलुङ्गे पुलमार्फत उद्धार गरेको उनले बताए ।
उद्धार गरिएका व्यक्तिहरूमा ४ महिला र ४६ पुरुष रहेकाे सह-प्रबक्ता थापाले बताए ।
चीनतर्फ रहेकाे लेन्दे नदीमा आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् ।
बाढीले नेपाल–चीन सिमानास्थित मितेरी पुल समेत बगाएको छ । जसका कारण सवारी साधन तथा मानिसहरूको आवत–जावत पूर्ण रूपमा बन्द भएको छ ।
बाढीले थप क्षति पुर्याउने सम्भावनाका कारण उद्धार कार्यमा सतर्कता अपनाइएको छ भने सम्पर्कविहीनहरूको खोजी कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।


