फाईल तस्बिर
गाेरखा । धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित गोबराही ईलाकामा हिजाे राती तस्कर समुहसंगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
सोही ईलाकामा मोटरसाईकलमा अबैध सामानहरु लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले अबैध सामान खोजतलास गर्ने क्रममा १ वटा मोटरसाईकल फेला पारेको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनसार नजिकै रहेको टहरोमा समेत खोजतलास गर्ने क्रममा अन्दाजी १५० जनाको संख्यामा लुखिछिपी बसेका व्यक्तिहरुले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।
सोही क्रममा ६ जना सशस्त्र प्रहरी कर्मचारीहरु घाईते भएका छन् भने स्थित नियन्त्रणको लागि सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र ४ राउण्ड हवाई फायर समेत गरेको थियो ।
घाइते भएकाहरुमध्य ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको छ भने ३ जनाको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।


