दुम्कीबास । बुटबल-नारायणघाट सडक खण्ड अन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल आजदेखि सञ्चालनमा आएको छ ।
सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वर बहादुर रिजालले विहीबार विहान ११ बजेतिरबाट नयाँ पुलमा यातायात सञ्चालनमा आएको बताए ।
पुलको ढलान भएको करिब ४ हप्तापछि नियमित रूपमा यातायात सञ्चालनमा आएको हो ।
चिनियाँ निर्माण कम्पनीका पूर्वी खण्डका प्रोजेक्टर म्यानेजर राकेश झाले पुल निर्माणको सबै काम सकिएपछि पुलबाट यातायात सञ्चालन गरिएको बताए ।
गत पुस २६ गते बिनयी खाेला माथी रहेकाे पुरानाे फलामे पुलबाट भारतीय हेवी ट्रक पास हुने क्रममा भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । डाइभर्सन पनि बाढीले बगाउ थालेपछि यात्रुले निक्कै कष्टकर यात्रा गर्नु परेकाे थियो ।
पछिल्लो पटक असार ७ गते विनयी खोलाले बस नै बगाएपछि नयाँ डाइभर्सन बनाइएको थिएन । जसका कारण साना तथा हलुवा सवारी साधन बैकल्पिक मार्गबाट ओहोरदोहोर गर्ने गरेका थिए भने ठूला तथा मालवाहक सवारी साधन भने बेलाबेलामा अस्थायी डाइभर्सन गराएर पास गराउने गरिएको थियो ।
नयाँ पुल सञ्चालनमा आएसँग यात्रु तथा चालकहरुले राहत महशुष गरेका छन् ।


